अत्यावश्यक स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने ३७ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १८ : ३१
अत्यावश्यक स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने ३७ जना पक्राउ

काठमाडौं । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत ६ हप्ताको अवधिमा उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

कोभिड-१९ का कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सामग्रीको अत्यधिक माग भइरहेको अवस्थामा विषम परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरुलाई उक्त अवधिमा देशभरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान गरिएको छ । 

उक्त अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, ८ जना पिसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने, १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, १ जना गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री गर्ने र ५ जना निषेधाज्ञा उल्लङ्घन गरी खोलिएका पसल बन्द गराउने तथा अनावश्यक हिँड्डुल रोक्ने कार्यमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने रहेका छन् । 

उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सिमिटर तथा ७ सय ६५ वटा नक्कली अक्सिमिटर, ६ थान रिमडेसिभिर तथा १ थान नक्कली रिमडेसिभिर, १ थान अक्सिजन सिलिन्डर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर इथिनिल रसायन, विभिन्न स्टिकरहरू, २ थान विलप्याड र ४६ वटा कार्टुन विभिन्न औषधि बरामद भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस