जनप्रतिनिधिको पद जाने भएकाले नयाँ पार्टी खोल्न विलम्ब : माधव नेपाल

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १७ : ३०
जनप्रतिनिधिको पद जाने भएकाले नयाँ पार्टी खोल्न विलम्ब : माधव नेपाल

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिको कारणले गर्दा नयाँ पार्टी दर्ता नगरेको बताएका छन् । 

उनले नयाँ पार्टी गठनको अभियानबाट आफू पछि नहटेको समेत प्रष्ट पारेका छन् । आफू पक्षधर जनसंगठनका पदाधिकारीहरूको भर्चुअल बैठकलाई बुधवार सम्वोधन गर्दै नेता नेपालले जजनप्रतिनिधिहरूको पद जाने खतरा भएकाले नयाँ पार्टी दर्ताको प्रक्रियामा विलम्ब भएको बताए । 

उनले भ्रातृ संगठनको भर्चुअल बैठक डाकेर आफूले गरिरहेको तयारी र त्यसको सन्दर्भमा कार्यकर्ताबाट सुझाव मागेका थिए ।  नयाँ पार्टी गठनको विषयमा नेपालले भने, ‘जनप्रतिनिधिहरूको कुराले अलि अड्किएका छौं । तर पनि पछि हटेको छैन । कुनै पनि बेला निर्णय हुन्छ ।’ आन्दोलनमा आयाराम गयारामहरु हुने भन्दै कोही व्यक्ति छाडेर जाँदैमा अभियान नटुंगिने नेपालको भनाइ थियो । 

नेपालले आफूले पार्टी एकताका लागि वैशाख २६ मा अघि सारेको ६ बुँदा मान्ने र प्रतिनिधिसभा विघटन प्रतिगमन भाग २ हो भनेर स्वीकार गरेको अवस्थामा मात्र ओलीसँग एकता हुने बताए । 

प्रतिक्रिया दिनुहोस