माधव नेपाललाई सुझाव : केपी ओलीको भुलभुलैयामा नलागौँ, वार्ता गर्नेलाई फिर्ता बोलाऔँ

नेपाल र खनालको निर्देशनबिना कसैलाई वार्ता गर्ने अधिकार छैन

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १६ : ०८
माधव नेपाललाई  सुझाव : केपी ओलीको भुलभुलैयामा नलागौँ, वार्ता गर्नेलाई फिर्ता बोलाऔँ

काठमाडौं । माधव नेपाललाई आफू पक्षीय भातृसंगठनका नेताहरुले केपी ओलीको भुलभुलैयामा नलागनी पार्टी विभाजन गर्न सुझाव दिएका छन् । 

एमालेको माधवपक्षीय समानान्तर भ्रातृ संगठनहरुको सामूहिक बैठकमा सहभागी नेताहरूले दोस्रो पुस्ताका नेताहरु कसको निर्देशनमा रातभर वार्ता बसिरहेका छन् ? भनेर माधव नेपाललाई प्रश्न गरेका थिए । माधव नेपालको प्रमुख आतिथ्यमा भइरहेको जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको जुम बैठकमा अब केपी ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नु सुझाव दिएका छन् । बैठकमा माधव नेपाल पक्षका नेताहरुले नेतृत्वलाई एउटा टुङ्गोमा चाँडो पुग्नसमेत सुझाव दिए । केही नेताले भने पार्टी एकतामा जोड दिएका थिए । 

झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना वार्तामा बसेका नेताहरुलाई फिर्ता बोलाउन नेताहरुले सुझाव दिएका छन् । गत सोमबार माधव नेपाल पक्षका केही नेता ओली पक्षसँग ४ घन्टा होटल याक एण्ड यतिमा वार्ता गरेका थिए । माधव नेपाललाई उनीहरुले कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनधिकृत र धोखेबाजी हुने बताएका थिए । 

एकताका नाममा वार्ता गर्ने दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतलाई वार्ताबाट फिर्ता गर्न माधव नेपालालाई सुझाव दिए । बैठकमा उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विकेले भने, ‘एकता र वार्ताका नाममा अलमलिँदा हाम्रै समूहका कतिपय नेताले छेपारो नै छक्क पर्ने गरी रंग फेर्ने काम गर्नुभएको छ ।’

माधवपक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पार्टी चाँडो विभाजन गर्न नेतृत्वलाई सुझाव दिए । अझै पनि वार्ता र एकता भन्ने नेताहरू केपी ओलीभन्दा पनि खतरनाक हुने उनको भनाइ छ । किसान महासंघका महासचिव बलराम बास्कोटाले माधव नेपाल र झलनाथ खनालको निर्देशनबिना कसैलाई वार्ता गर्ने अधिकार नभएको बताए । उनले वार्ताबाट तत्काल फिर्ता बोलाउन माधव नेपाललाई सुझाव दिए । बैठकमा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले एकताका नाममा फेरि पनि केपी ओलीले अल्मल्याउने सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस