काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेका माधव नेपाल पक्षका ७ जना नेताले आफूहरुमाथि कारबाहीको सिफारिस गर्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् ।
एमालेको प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका ६ मन्त्री र एमाले संसदीय दलका प्रमुख सचेतकलाई सोमबार कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको थियो ।
मन्त्रीहरु दीर्घबहादुर सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी, राज्यमन्त्रीहरु चुनकुमारी देवी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज तथा एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामीले मंगलबार एक विज्ञप्ति जारी गरी आफूहरुलाई कारबाहीका लागि लेखेको पत्रमा उल्लेखित कुरा पूर्वाग्रहपूर्ण, निराधार र भ्रमपूर्ण भएको बताएका छन् ।
नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिने निर्णय गरेको थियो । तर सुदूरपश्चिम प्रदेशसभा संसदीय दलमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षको बहुमत छ ।
त्यसैले प्रदेशसभा संसदीय दलको जेठ १२ गतेको बैठकले देश कोरोना महामारीबाट आक्रान्त बनिरहेको विषम परिस्थितिमा सुदूरपश्चिम प्रदेश सरकारलाई स्थिर र प्रभावकारी बनाउनुपर्ने भन्दै सरकारलाई दिएको समर्थन कायम राख्ने र सरकारमा सहभागिता वृद्धि गर्ने निर्णय गरेको थियो ।
कारबाही सिफारिस भएका नेताहरुले प्रदेशसभा संसदीय दलको बैठकको निर्णय अनुसार नै आफूहरु सरकारमा सामेल हुनु एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको विधान, २०७८ अनुकुल नै भएको दाबी गरेका छन् । ‘यसलाई अन्यथा प्रचार गरिनु नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका निर्णयलाई होच्याउने र अवमूल्यन गर्ने गलत कार्य हो,’ उनीहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले आफूहरुलाई कुनै स्पष्टीकरण पत्र नै नपठाइ कारबाहीको सिफारिस गरिएको भन्दै यसलाई षड्यन्त्रपूर्ण र अनुचित भनेका छन् ।उनीहरुले आफूहरुमाथि लगाइएको पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने भन्ने आरोप निराधार र गलत भएको बताएका छन् । सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि एमाले २०७५ जेठ २ गतेको स्थितिमा फर्किनुपर्छ भन्दा पार्टी निर्णय र नेतृत्वलाई चुनौती दिएको भन्नु गलत हुने पनि उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी