जसपा उपेन्द्र यादव पक्षद्वारा महन्थ ठाकुरसहित चार नेतालाई कारवाही गर्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १२ : ५३
जसपा उपेन्द्र यादव पक्षद्वारा महन्थ ठाकुरसहित चार नेतालाई कारवाही गर्ने तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई आज कारवाही गर्ने तयारी गरिएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए । तर तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ आएको छैन ।

अध्यक्ष यादवले आज पदाधिकारी बैठकबाट उनीहरुलाई कारवाही गर्ने सम्भावना रहेको जसपाका एकजना कार्यकारिणी सदस्यले बताए । जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको छ । अध्यक्ष यादवले आवश्यकता अनुसार पदाधिकारीहरूसँग छलफल गरेर कारवाहीको प्रकृया बढाउने बताइएको छ ।

अध्यक्ष ठाकुरसहितका नेताहरुले हिजो प्रधानमन्त्री ओलीलाई भेट्न गएको कारण यादवले कुनै निर्णय नलिएको बताइएको छ । ती नेताले भने, ‘प्रधानमन्त्री ओलीसँग भएको वार्ता अनुसार आठ मन्त्री र दुई राज्यमन्त्री दिने सहमति भएको छ । सरकारमा सहभागी हुने १० जना स्वतः कारवाहीमा पर्ने नै भए । त्यसपछि बाँकी रहेकालाई कारवाही गर्ने सोच रहेको छ ।’

जेठ ८ गते बसेको कार्यकारिणी समितिका बैठकले सरकारमा सहभागी हुने नेता पार्टीबाट स्वतः निष्कासन हुने निर्णय गरेको थियो  । ‘अध्यक्ष ठाकुर पक्षका नेताहरु सरकारमा गए कारवाहीका लागि निर्णय गर्न झनै सजिलो हुन्थ्यो । तर निर्णयमा ढिलाइ भएको कारण यताबाट पनि कारवाहीको प्रकृया अगाडि बढाउन समस्या भइरहेको छ,’ ती नेताले भने, ‘अब कुरेर बसिँदैन, आज या भोलिसम्म कारवाहीको प्रकृया अगाडि बढ्छ ।’

यता, पार्टीका कार्यकारिणी सदस्य गङ्गा श्रेष्ठका अनुसार जेठ ८ गतेको बैठकले नै उनीहरुलाई कारबाही गरिसकेको र दुईपटक सोधेको स्पष्टीकरण पनि कारवाहीको प्रकृया नै हो । ‘थप कारवाही कहिले हुन्छ भनेर समय किटान गर्न सक्दिनँ तर यति भन्नसक्छु कि पार्टीको विधानमा जे व्यवस्था छ त्यही अनुसार प्रकृया अगाडि बढ्छ,’ उनले भने ।

यता, अध्यक्ष उपेन्द्र यादवलाई पनि सोही दिन स्पष्टीकरण सोधिएको थियो । तर उनले पनि जवाफ दिएका छैनन् । उनलाई पठाएको पत्रमा पनि २४ घण्टाभित्र चित्त बुझ्दा जवाफ नदिए पार्टीबाट निष्काशनसम्मको कारवाही हुने पत्रमा उल्लेख थियो । तर अध्यक्ष यादवले पनि यसबारे जवाफ दिएका छैनन् । ठाकुर पक्ष यतिबेला अध्यक्ष यादवको कदमलाई कुरेर बसेको छ । अध्यक्ष यादवले कस्तो खालको कारवाही गर्छन् त्यही अनुसारको कारबाहीको निर्णय गर्ने तयारी रहेको ठाकुर पक्षका एक नेताले बताए ।

अध्यक्ष यादवले सोधेको स्पष्टीकरण तथा सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि अध्यक्ष ठाकुरले आफूनिकट नेताहरुलाई छलफलका लागि बबरमहलस्थित पार्टी कार्यालयमा बोलाएका छन् ।

सोमबार प्रधानमन्त्री ओलीसँग भेटेपछि सरकार जाने सहमति भइसकेको छ । तर पार्टीमा क–कसलाई सरकारमा पठाउने भन्ने विषयमा सहमति हुनसकेको छैन । हिजो पनि मन्त्रीका विषयमा छलफलका लागि ठाकुर पक्षको बैठक बसेको थियो तर सहमति हुन सकेन । त्यसका लागि आज पनि प्रयास हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस