वनमन्त्रीद्वारा सल्लाहकारकी पत्नीलाई  कार्यकारी निर्देशकमा नियुक्ति

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, ०७ : ५५
वनमन्त्रीद्वारा सल्लाहकारकी पत्नीलाई  कार्यकारी निर्देशकमा नियुक्ति

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै विज्ञ सल्लाहकार यमबहादुर बमकी पत्नी सीता शाहीलाई मन्त्रालयअन्तर्गतको राष्ट्रिय ताल विकास समितिमा कार्यकारी निर्देशक नियुक्त गरेका छन् । समितिमा अध्यक्षसहित ३ सदस्य रहने प्रावधान भए पनि कार्यकारी निर्देशक पद सर्वेसर्वा मानिन्छ ।

मन्त्री नियुक्त भएलगत्तै आलेले कैलालीका बमलाई विज्ञ सल्लाहकार नियुक्त गरेका थिए । त्यसअघि बम राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) सञ्चालक समिति सदस्य थिए । अहिले पनि उनले एनटीएनसीकै सवारी साधन प्रयोग गरिरहेका छन् । विगतमा खप्तड पर्यटन विकास समितिमा समेत नियुक्ति पाएका बम त्यतिबेला विवादमा तानिएका थिए ।

विगतमा पर्यटन मन्त्रालयमातहत रहेको राष्ट्रिय ताल विकास समितिलाई केही समयअघि वन मन्त्रालयअन्तर्गत ल्याइएको थियो । आलेले समितिको अध्यक्षमा सिन्धुपाल्चोकका ध्रुब शाहीलाई नियुक्त गरेका छन् । अध्यक्ष पद भने अवैतनिक हो । वन मन्त्रालयका प्रवक्ता बुद्धिसागर पौडेलले समितिमा बाँकी सदस्य भने नियुक्त गर्न बाँकी रहेको बताए । यस्तै, मन्त्री आलेले काठमाडौंकी दीपा दाहाललाई वन पैदावार विकास समितिको कार्यकारी अध्यक्ष बनाएका छन् । समितिअन्तर्गत झापामा रतुवामाई वृक्ष सुधार आयोजना तथा सर्लाही र रौतहटमा सागरनाथ वन परियोजना सञ्चालनमा छ ।

मन्त्रालय स्रोतका अनुसार आलेले ठाडो आदेशमा पार्टी निकटका व्यक्तिहरूलाई नियुक्ति दिने गरेका छन् । केही दिनअघि उनले मुगुका एमाले नेता गोपाल बमको राराताल किनारमा रहेको डाँफे होटलको म्याद आफूखुसी ५ वर्ष थपिदिएका थिए । यस्तै, उनले यती वल्र्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिलाई लामटाङ निकुञ्जको भित्री भाग (कोर एरिया) मा विद्युत् उत्पादनको अनुमति दिन कार्यनीति संशोधन पनि गराएका थिए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस