गोरखामा पहिराले बगाएर ३० भन्दा बढी भेडा बेपत्ता, दुई भैसी र तीन बोका बाख्रा पुरिएर मरे

रासस

शनिबार, १५ जेठ २०७८, १५ : ४५
गोरखामा पहिराले बगाएर ३० भन्दा बढी भेडा बेपत्ता,  दुई भैसी र तीन बोका बाख्रा पुरिएर मरे

सांकेतिक तस्वीर

गोरखा । गोरखाको धार्चे गाउँपालिका–१, हुलचुकमा चराउँदै गरेका ३० भन्दा बढी भेडालाई पहिराले बगाएर बेपत्ता बनाएको छ । गाउँदेखि झण्डै तीन घण्टाको पदैल दुरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनाएको हो । 

‘‘ठूलो पानी परेपछि गोठालाहरु ओडारमा बसेका बेला एक्कासी आएको पहिराले भेडा बगाएको जानकारी आएको छ”, वडाध्यक्ष दिलिप गुरुङले भने, “करीब १२० ओटा भेडामध्ये ३० वटाभन्दा बढीलाई पहिराले बगाएको गोठालाले बताएका छन् ।’’ स्थानीयबासी राजु घले र लेक्पा घलेको भेडा पहिराले बगाएको उनको भनाइ छ । लगातार पानी परेकाले पहिरामा पुरिएका भेडा निकाल्न नसकेको जानकारी आएको वडाध्यक्ष गुरुङले बताए ।

यस्तै सहिद लखन गाउँपालिका–७, बुङकोटमा गएराति माथिबाट खसेको पहिरोले गोठ पुरिदा गोठमा भएका दुई भैसी, तीन बोका बाख्रा पुरिएर मरेका छन् । स्थानीयबासी  धनबहादुर श्रेष्ठको गोठमा माथिबाट पहिरो खसेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । लगातार पानी परेकाले राति पहिरो हटाउन नसकिएपछि आज बिहान एक्साभेटरको सहायताले पुरिएको पशु चौपाया निकालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस