भारतबाट खोप नआउने भएपछि अमेरिकाको जोनसन एन्ड जोनसन खोप माग गर्ने तयारी

पत्रपत्रिकाबाट

शुक्रबार, १४ जेठ २०७८, ०६ : २५
भारतबाट खोप नआउने भएपछि अमेरिकाको जोनसन एन्ड जोनसन खोप माग गर्ने तयारी

file Photo

काठमाडौं । नेपालले खरिद गरेको १० लाख मात्रा कोभिडसिल्ड खोप भारतबाट आउने सम्भावना कम भएपछि विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अस्ट्राजेनेका खोप माग गर्ने तयारी थालिएको छ ।

खोप सल्लाहकार समितिले कोभ्याक्स कोभिडसिल्डको विकल्पमा उपयुक्त हुने जोनसन एन्ड जोनसन र अस्ट्राजेनेकाको खोप माग गर्ने भएको हो । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने बताएपछि कोभ्याक्सले नेपाललाई कोभिडसिल्डको विकल्प माग गरेको थियो ।

विकल्पमा कोभ्याक्समा आबद्ध एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सन खोप उपयुक्त हुने खोप विज्ञ बताउँछन् । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले खोप सल्लाहकार समितिको मंगलबार बसेको बैठकबाट ‘पहिलो विकल्पमा एस्ट्राजेनेका र जोन्सन एन्ड जोनसन उपयुक्त हुने’ निष्कर्ष निकालिएको जानकारी दिए ।

‘कोभ्याक्समा आबद्ध भ्याक्सिन कम भएकाले एस्ट्राजेनेका र जोन्सन एन्ड जोनसन खोप उपयुक्त हुने देखिन्छ,’ डा. पोखरेलले भने, ‘६५ वर्षमाथिका झन्डै १४ लाख ५० हजार ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउनुपर्नेछ । सम्भवतः यी दुई खोप कोभ्याक्समा सिफारिस हुन्छ ।’ जोनसोन नयाँ समूह र एस्ट्राजेनेकाको खोप पहिलो मात्रा लगाएकालाई दोस्रो डोजका रूपमा लगाउन मिल्ने उनले राजधानीसँग बताए ।

भारतबाट माग गरिएको कोभिडसिल्ड भ्याक्सिन आउने सम्भावना कम देखिएपछि औषधि व्यवस्था विभागले कोभिडसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी र भेरोसेल खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभ्याक्स ङ्खयासिलिटीअन्तर्गत नेपालमा पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभिडसिल्ड खोप आएको थियो ।

कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसैबीच, बिहीबार देशभर थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २० हजार ४ सय १४ जनाको पीसीआर र ५ सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ संक्रमित निको भएका छन् । राजधानी दैनिकमा खबर छ ।