नेपाल पर्वतारोहण संघको चुनावमा सत्ता गठबन्धन पराजित, अध्यक्षमा फुर्वा गेल्जे शेर्पा विजयी

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०८२, ०९ : ४२
नेपाल पर्वतारोहण संघको चुनावमा सत्ता गठबन्धन पराजित, अध्यक्षमा फुर्वा गेल्जे शेर्पा विजयी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्वमा फुर्वा गेल्जे शेर्पाले बाजी मारेका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले कांग्रेस–एमाले गठबन्धनले अघि सारेका उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

शेर्पाले ३४२ मत ल्याउँदा गुरुङले २८८ मत पाए । यसअघि नै सत्ता गठबन्धनले अघि सारेका उम्मेदवारहरू पराजित भइरहेका थिए भने माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिक रहेका व्यवसायीहरूले उठाएका उम्मेदवार विजयी भइरहेका छन् ।

पदाधिकारीमा शेर्पा समूहको वर्चस्व

वरिष्ठ उपाध्यक्षमा फुर्वा शेर्पा समूहका ईश्वरी पौडेल ३४५ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी टिका गुरुङ २५८ मतमा सीमित भए । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत ल्याएर काजी शेर्पालाई पछि पारे । द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी धनबहादुर गुरुङ २३८ मतमा रोकिए ।

महासचिवमा राजेन्द्र लामा (३१८), सचिवमा चन्दन थापा (३५८) निर्वाचित भए । कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान ३०४–३०४ मत ल्याएपछि दुईजनाले कार्यकाल आधा–आधा बाँड्ने सहमति भएको छ ।

सदस्यमा पनि अधिकांश शेर्पा समूहकै

सदस्य पदमा समेत शेर्पा पक्षकै उम्मेदवारले वर्चस्व जमाएका छन् । माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डङ्गोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७) विजयी भएका छन् ।

यसरी प्रथम उपाध्यक्ष बाहेक सबै पदमा फुर्वा गेल्जे शेर्पा समूहका उम्मेदवार विजयी भएपछि संघमा माओवादी निकट व्यवसायीहरूको प्रभाव झनै बलियो भएको छ ।

लगातार पराजयमा सत्ता गठबन्धन

सत्ता गठबन्धनका उम्मेदवारहरूको हार केवल एनएमएमा सीमित छैन । यसअघि पर्यटन व्यवसायीहरूको छाता संगठन टान (त्ब्ब्ल्) को निर्वाचनमा पनि गठबन्धनले अघि सारेका उम्मेदवारहरू पराजित भएका थिए । त्यतिबेला पनि माओवादी केन्द्रसँग निकट व्यवसायीहरूको समूहले नेतृत्व समातेको थियो ।

त्यस्तै, नेपाल पत्रकार महासंघको निर्वाचनमा पनि कांग्रेस र एमाले मिलेर गठबन्धन बनाएर चुनाव लडे पनि परिणाम अनुकूल आउन सकेन । केन्द्रीय कोषाध्यक्षसहित पाँच केन्द्रीय सदस्यमा माओवादी निकट पत्रकार विजयी भए । उपत्यकामा मात्रै हेर्दा काठमाडौं, ललितपुरलगायतका जिल्लामा माओवादी पंक्तिका पत्रकारहरूले विजय हात पारेका थिए ।

राजनीतिक प्रभाव बढाउँदै माओवादी

पछिल्ला यी सबै परिणामहरूले माओवादी केन्द्रसँग निकट समूहहरू पेशागत संघसंस्थामा बलियो हुँदै गएको देखिएको छ । चाहे पर्यटन व्यवसायको छाता संगठन होस् वा पत्रकारहरूको पेशागत संस्था, या पर्वतारोहण संघ—प्रत्येक क्षेत्रमा सत्ता गठबन्धनभन्दा माओवादी पक्षधर समूहले संगठनात्मक प्रभाव बढाएको छ ।

विशेषगरी कांग्रेस–एमाले गठबन्धन मिलेर उम्मेदवार उठाउँदा समेत लगातार हार्नु, त्यसविपरीत माओवादी केन्द्र निकट समूहले नेतृत्व हात पार्नु एमाले–कांग्रेस भित्रका शक्ति सन्तुलन र पेशागत संघसंस्थामा देखिएको नयाँ ध्रुवीकरणको स्पष्ट संकेतका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस