माधव नेपालको अर्को पक्षले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन, तारा चुनाव चिन्ह माग

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १६ : १८
माधव नेपालको अर्को पक्षले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन, तारा चुनाव चिन्ह माग

काठमाडौं । माधव नेपाल पक्षको अर्को समूहले नयाँ पार्टी निर्वाचन आयोगमा वैकल्पिक नामसहित दल दर्ताको निवेदन दिएको छ। सो समूहले निर्वाचन आयोगमा नेकपा (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएका हुन् । यसअघि नेपालनिकट नेता जीवन राईले नेकपा (एकीकृत) दर्ता गरेलगत्तै सोही समूहका कार्यकर्ताले निर्वाचन आयोगमा नेकपा (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएका छन् ।

सुदीप रुवाली अध्यक्ष र सृष्टी बराल महासचिव रहेको उक्त पार्टी निषेधाज्ञाकै बीच दर्ताका लागि गए पनि आयोगले विधान नमिलेको भन्दै फिर्ता पठाएको थियो ।  रुवाली माधव नेपालपक्षीय युवा संघका केन्द्रीय सदस्य हुन् । विधानमा संशोधन गरेर बिहीबार पुनः दर्ताका लागि निवेदन दिइएको रुवालीले बताए । 

चितवनका रुवालीले सो समूहका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेललगायतसँगको सल्लाहपछि दल दर्ताका लागि निवेदन दिएको बताइएको छ । उनीहरूले पार्टीको चुनाव चिन्ह तारा माग गरेका छन् । यसअघि माधव नेपालनिकट जीवन राईको पार्टी नेकपा एकीकृतले भने चुनाव चिन्ह कलम माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस