बाजुरा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

रासस

आइतबार, ०९ जेठ २०७८, २१ : ५७
बाजुरा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

फाइल फोटो

काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट अक्सिजन अभावका कारण जिल्लाका नागरिकले ज्यान बचाउनका लागि आइतबार १० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । जिल्लामा केही व्यक्तिहरुले सञ्चालन गरेको ‘बाँच्नका लागि अक्सिजन सहयोग अभियान’ले १० वटा सिलिण्डर हस्तान्तरण गरेको हो ।

जिल्ला अस्पतालमा पाँच जनाले कोरोना सङ्क्रमणबाट अक्सिजन, भेन्टिलेटर आइसियु अभावका कारण ज्यान गुुमाएको र केही सङ्क्रमितलाई अक्सिजन अभावका कारण जिल्ला बाहिर पठाउनु परेको अवस्थामा सो अभियानमार्फत जम्मा भएको रकमबाट सिलिण्डर खरीद गरी हस्तान्तरण गरिएको सामाजिक अभियान्ता प्रकाश सिंहले बताए ।

अभियान सञ्चालन भएको एक सातामै जिल्लाका व्यापारी, कर्मचारी उद्योगी निर्माण व्यवसायी र सर्वसाधारणबाट रु छ लाखभन्दा बढी रकम प्राप्त भएपछि त्यसबाट अक्सिजन खरीद गरेर  जिल्ला अस्पताल बाजुरालाई आज हस्तान्तरण गरेको अर्का अभियन्ता बीरबहादुर विष्टले राससलाई जानकारी दिए । ती अक्सिजन सिलिण्डर बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई हस्तान्तरण गरेका थिए । 

यसैबीच कोरोनाबाट सङ्क्रमित भई अक्सिजन अभावका कारण अकालमा ज्यान गुमाउन थालेपछि बोलन्या थलीले ‘प्राणका लागि प्राण अभियान’ सञ्चालन गरी  अक्सिजनका सिलिण्डर सहयोग गर्दै आएको छ । बोलन्या थलीले जिल्ला अस्पताल बाजुरालाई चार र बुढीगङ्गा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकीलाई तीन  गरी सात वटा अक्सिजनका सिलिण्डर हस्तान्तरण गरेको बोलन्या थली बाजुराका संयोजक भरत बुढाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस