निषेधाज्ञा र सरकारी आदेश कार्यान्वयन सन्तोषजनक : गृह मन्त्रालय

रासस

मंगलबार, ०४ जेठ २०७८, २० : ०४
निषेधाज्ञा र सरकारी आदेश कार्यान्वयन सन्तोषजनक : गृह मन्त्रालय

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र सरकारद्धारा यसको रोकथाम, उपचार तथा नियन्त्रणका सन्दर्भमा दिइएका निर्देशन कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएको गृह मन्त्रालयले जनाएको छ ।

Yeti Diistillery Tansen Cement box

मन्त्रालयले आज विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन र  असहज परिस्थितिलाई सहज तथा सामान्य तुल्याउनु अझै अत्यावश्यक रहेकाले थप सचेत हुन नागरिकसँग अनुरोध गरेको छ । 

प्राप्त जानकारीअनुसार आजसम्म चार जिल्लामा आंशिकसहित मुलुकका ७४ जिल्लामा आदेश कार्यान्वयनमा रहेको छ । मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा आदेश जारी गरिएको छैन । देशमा दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दो छ । गत वर्षका तुलनामा यस वर्ष बढी असर र खतरनाक देखिएको विज्ञले बताउँदै आएका छन् । 

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा  अत्यावश्यक सेवा प्रवाहका लागि आवश्यकतानुसार सवारी साधन सञ्चालन गरिएको र आवश्यक अक्सिजन आपूर्ति सकेसम्म सहज बनाइएको उल्लेख छ ।  

अक्सिजन उत्पादन, आपूर्ति तथा वितरण प्रणाली भरपर्दाे, पारदर्शी र न्यायसङ्गत  तुल्याउन अक्सिजनसँग सम्बन्धित उद्योगमा भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन ३३ स्थानमा डेडिकेटेड सुरक्षा टोली खटाइएको मन्त्रालयको भनाइ छ । अक्सिजन प्लान्ट चौबीसै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको र  विद्युत् आपूर्तिको व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।  

मन्त्रालयका अनुसार यसबीचमा निषेधको आदेश अवज्ञा गरी मास्क नलगाई हिँड्ने २१ हजार ९४२ जनालाई जरिवाना तिराइएको छ । सचेतनामूलक कार्यक्रममार्फत चार लाख ३७ हजार बढीलाई मास्क वितरण गरिएको छ । 

कोरोना बढिरहेका अवस्थामा भीडभाडजन्य गतिविधि नगर्न, मास्कको उचित प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, बारम्बार साबुनपानीले हात धुन तथा नियमित रुपमा सेनिटाइजरको प्रयोग गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।