इजरायली र प्यालेस्टिनीबीचको युद्ध कहिले रोकिएला ?

एजेन्सी

मंगलबार, ०४ जेठ २०७८, १६ : ५५
इजरायली र प्यालेस्टिनीबीचको युद्ध कहिले रोकिएला ?

काठमाडौ । गत बैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । झण्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजा स्वरुप पछिल्लो युद्ध शुरु भएको हो । एक महिनाअघि पूर्वी जेरुसेलममा रहेका एक प्यालेस्टिनी परिवारलाई आफ्नो घर छाड्न इजरायली अधिकारीहरुले चेतावनी दिएपछि विवाद उत्पन्न भएको थियो । उक्त जमिन एक यहूदीको भएको इजरायलको भनाई छ । जेरुसेलम इजरायली र प्यालेस्टिनी दुबै समुदायका लागि पवित्र स्थल पनि हो । 

इजरायली सेनाले प्यालेस्टिनी परिवारलाई हटाउन थालेपछि “भूमि कब्जा गर्न खोजेको” भन्दै हमासले क्षेप्यास्त्र प्रहार गरेको थियो । इद्यपी इजरायलभित्रै बसोबास गर्ने अल्पसंख्यक अरब समुदायले पनि उक्त घटनाको विरोध गर्दै प्रदर्शन गरेका थिए जुन यहूदी–अरबी हिंसामा रुपान्तरण भएको थियो ।  

यो घटना आगोको फिलिङ्गो सावित भयो । आफूमाथि क्षेप्यास्त्र हानेपछि निकै बलशाली इजरायल चुप लाग्ने कुरै थिएन । उसले हमास विरुद्ध आक्रामक कारबाही गर्ने चेतावनी दियो । इजरायली सेनाले क्षेप्यास्त्र प्रहार गर्ने स्थान र क्षेप्यास्त्र उत्पादन गर्ने ठाउँ, विद्रोही कमान्डरहरु, उनीहरुका घर र ठुल्ठूला अग्ला भवनलाई निशाना बनाइएको जनाएको छ जसबाट एसोसिएटेड प्रेस, अल–जजिरा टिभी जस्ता सञ्चार गृह रहेको टावर भवन पनि बम हमलाबाट ढालिएको छ । इजरायलतर्फ लुकिछिपी प्रवेश गर्न हमासले बनाएका भूमिगत सुरुङहरु ध्वस्त पार्नु पनि इजरायलको उद्देश्य रहेको सेनाको भनाई छ । 

हिंसात्मक कारबाही तिब्र भएसँगै नयाँ प्यालेस्टिनी “इन्तिफादा” अर्थात विद्रोह हुने सम्भावना बढाएको छ । सन् १९४८ मा इजरायल स्थापना हुनेक्रममा झण्डै सात लाख प्यालेस्टिनी बिस्थापित भएको दिनको सम्झना पनि गत शनिबार परेको थियो । इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको आइतबार बसेको बैठक पनि कुनै निर्णयमा नपुगी टुङ्गिएको छ ।

इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसंघ सुरक्षा परिषदबाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्तराज्य अमेरिकाले रोकिदिएको छ । तर अमेरिकाले इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ, तर सँगै इजरायलले आफ्नो सम्प्रभू र आत्मरक्षा गर्न पाउने अधिकार रहेको जनाएको छ । उता, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस