कर्णालीमा लफडा : कांग्रेसको अडानका कारण मन्त्रीको नियुक्ति प्रक्रिया स्थगित

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, ०८ : ४६
कर्णालीमा लफडा : कांग्रेसको अडानका कारण मन्त्रीको नियुक्ति प्रक्रिया स्थगित

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले आफ्नो अडान नछोडेपछि कर्णालीमा लफडा मच्चिएको छ । नेपाली काँग्रेसले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । कांग्रेसको अडानका कारण ३ मन्त्रीको नियुक्ति प्रक्रिया नै रोकिएको छ ।

मुख्यमन्त्री शाहीले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सीता नेपालीलाई नियुक्त गर्ने तयारीमा थिए, तर कांग्रेसको अडानका कारण नियुक्त गर्ने कार्यक्रम नै रोकियो ।   
कांग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले चार मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् । 

मन्त्री नियुक्ति र मन्त्रालय विभाजनमा कांग्रेसको असहमति देखिएपछि शपथ ग्रहण कार्यक्रम हुन सकेन । ‘पहिलेको सहमतिअनुसार हुन सकेन, कांग्रेसले लफडा झिकेको छ । अहिले पनि काँग्रेसलाई मिलाएर लैजानेबारे छलफल भइरहेको छ’ कर्णालीका माओवादी केन्द्रका एक नेताले भने । 

कांग्रेसलाई सहमत गराउन मुख्यमन्त्री शाहीले दुई दिनसम्म काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र एमाले माधव नेपाल समूहका नेता प्रकाश ज्वालासँग छलफल गरेका थिए । तर, छलफल कुनै निकास थिएन । फ्लोर क्रस गरेका एमालेका चार सांसदको भूमिका अब कस्तो हुने हो त्यो पनि हेर्न बाँकी छ । 


 

प्रतिक्रिया दिनुहोस