भीजेदेखि मिस युनिभर्ससम्म नग्माको यस्तो छ सङ्घर्ष यात्रा

विहीबार, १६ कार्तिक २०७४, २० : ५७
भीजेदेखि मिस युनिभर्ससम्म नग्माको यस्तो छ सङ्घर्ष यात्रा

‘मिस युनिभर्स’मा पुग्ने सपना नेपालमा धेरै सुन्दरीले पालेका होलान् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने पहिलो सुन्दरी हुने अवसर भने नग्मा श्रेष्ठले पाएकी छन् । ‘वल्र्ड मिस युनिभर्सिटी–२०१६’ मा नेपालको प्रतिनिधित्वसमेत गरेकी उनले नै ‘विश्व प्रसिद्ध ‘मिस युनिभर्स’को फ्रेन्चाइज नेपालमा भित्र्याउन सफल रहिन् । मिस युनिभर्सिटीमा थर्ड रनर्स अपको उपाधि चुमेकी उनले ‘मिस फिट्नेसको अवार्ड’ समेत नेपाल भित्र्याएकी थिइन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर ६ सौन्दर्य प्रतियोगिता अनुभव सँगालेकी उनले गत वर्ष इजिप्टमा आयोजित ‘मिस इको युनिभर्स २०१६’ मा पनि ‘बेस्ट टुरिजम भिडियो अवार्ड’ हात पारेकी छन् ।

सन् २०१२ की मिस नेपालबाट सौन्दर्य प्रतियोगिता यात्रा थालेकी उनले प्रतियोगितामा फस्ट रनर्स अपको ताजसहित मिस नेपाल अर्थ हात पारेकी थिइन् । उनी मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा अगाडि पुग्ने नेपाली सुन्दरीसमेत हुन् । सन् २०१२ देखि नै ‘मिस युनिभर्स’का लागि व्यक्तिगत प्रयास गर्दै आएकी उनी २०१६ सफल भइन् । २०१७ को प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागी हुँदैछिन् । इमेज टेलिभिजनको भीजेबाट सेलिब्रेटीको रूपमा चिनिएकी नग्मा मोडलिङ हुँदै सौन्दर्य प्रतियोगितामा होमिएकी हुन् । भीजेदेखि ‘मिस युनिभर्स’सम्मको उनको यात्रा :

भीजे नग्मा
उनको पहिलो परिचय टेलिभिजन पर्सनालिटी हो । सन् २००९ मा इमेज च्यानलबाट यात्रा थालेकी उनले भीजेका रूपमा उक्त टेलिभिजनमा लाइभ कार्यक्रम, एसएमएस मोर, अन्तर्वार्तालगायतका थुपै्र कार्यक्रम चलाउँथिन् । १६ वर्षको उमेरमै भीजेका रूपमा चिनिएकी उनले टेलिभिजनमा नियमित ६ वर्ष काम गरिन् । काम गर्ने सिलसिलामा डाक्टर, कलाकारदेखि सर्वसाधारणसम्मको अन्तर्वार्ता लिएकी उनले टेलिभिजन काममा निक्कै इन्जोए गरेको बताइन् । भनिन्– ‘टेलिभिजन काम गर्दा निकै रमाइलो लाग्थ्यो । यसैबाट धेरै कुरा सिक्ने मौका पाएँ ।’

मिस युनिभर्सको बाटो खुल्यो
उनी ‘मिस युनिभर्स’ नेपालको प्रतिनिधित्व गर्न छिट्टै उड्दै छिन् । यो प्रतियोगितामा नेपाल सहभागी हुने अवसर उनले नै जुटाएकी हुन् । छोटो समय र सानो प्रयासको नतिजा होइन यो । सन् २०१२ देखि निरन्तर लेखिएको एकोहोरो मेल र सन् २०१६ मा मिस युनिभर्सकै हेड अफिसमा पुगेर गरिएको भेटको फल हो । ‘मैले नेपाल पनि सहभागी हुन चाहन्छ भन्ने सन्देशसहितको मेल कति लेखेँ, मलाई नै याद छैन । तर रिप्लाई कहिल्यै पनि आएन’ नग्मा भन्दै थिइन्– ‘२०१६ मा एक कार्यक्रमको जज बन्न जब म अमेरिका पुगेँ । मिस युनिभर्सको हेड अफिसमा सम्पर्क कोसिस गरेको पहिलो फोन उठ्यो र मैले भेट्ने मौका पाएँ । डालसबाट काठमाडौँ फर्किन पर्ने मान्छे न्युयोर्क पुगेँ र कुरा गरेँ ।’ भेटमा उनलाई प्रश्न गरिएको थियो, त्यो मेल गर्ने केटी तिमी हो ? भनेर । उनले हिम्मतका साथ नेपाल पनि सहभागी चाहन्छ भनेर बताइन् । विभिन्न तरिकाले आयोजकलाई सहभागीका लागि कन्भिन्स् गरिन् । मिस युनिभर्सको लागि भरपर्दो नेपाल डिरेक्टर खोज्न आयोजकले सुझाए । उनले तरुन्तै नेपाल फर्किएर मिस युनिभर्सको नेसनल डिरेक्टर हिडन ट्रेजरसँग कुरो मिलाइन् । तब मात्र उनको मिस युनिभर्सको यात्रा सुनिश्चित भयो ।
 

मिस युनिभर्स नै किन ?
मिस युनिभर्स विश्वकै सबैभन्दा ठूलो ब्युटी प्याजेन्ट हो । उनले पनि यो बुझेकी छन् । प्रतियोगितामा सहभागिता हुन पाए अन्तर्राष्ट्रिय अवसरका बाटाहरू खुल्नेमा दुई मत छैन । अर्काे कुरो ६५औँ मिस युनिभर्स भइसक्दा पनि नेपालको सहभागिता नरहेकाले उनी नेपालका लागि प्रतियोगिताको ढोका पनि खोल्न चाहन्थिन् । अर्काे एक कारण पनि छ । त्यो हो मिस अर्थमा टिम म्यानेजर रहेकी रुरु । रुरुले मिस अर्थको सुरुवातदेखि उनलाई साथ दिएकी थिइन् । रुरुसँगै उनले पनि टप ४ मा आफूलाई देखेको थिइन् । तर त्यसो भएन । ‘कार्यक्रमबाट म आउट हँुदा अब तिमीले ‘मिस युनिभर्स’मा भाग लिनुपर्छ रुरुले भन्नुभएको थियो । त्यसपछि मेरो लक्ष्य मिस युनिभसको बन्यो’ खुसी हँुदै नग्माले भनिन् ।

निर्णय लिन गाह्रो
‘मिस युनिभर्स’को अवसर उनका लागि चुनौती मात्र होइन, आफ्नाले उनीमाथि गरेको विश्वास शक्तिमा बदल्ने मौका पनि हो । धेरैले उनलाई ‘तिमी सक्छौ’, ‘राम्रो गर्नुपर्छ’ भन्ने म्यासेज गरेका छन् । सबैलाई खुशी दिने लक्ष्यसहित उनी मिहिनेतमा पसिना बगाइरहेकी छन् । हरेक दिन बिहान, बेलुका सतिन कुँवरसँग उनी प्रशिक्षणमा जुट्ने गरेकी छन् । प्रशिक्षणको अलवा अध्ययन बढाएको, सानो कुरामा सचेतता अपनाएको उनले सुनाइन् । प्रतियोगिताको नेसनल राउन्डका लागि आफ्नो देशको सांस्कृतिक पहिरन लगाउनुपर्छ । सबैभन्दा धेरै प्रेसर यसकै हो उनलाई । भनिन्– ‘धेरै डिजाइनरसँग धेरै छलफल गर्दा पनि निर्णय लिन सकेकी छैन ।’ प्रतियोगितामा शतप्रतिशत दिने प्रयासमा रहेकी उनी उपाधि नेपाल भित्र्याउने लक्ष्य लिएकी छन् । यसका लागि उनले नेपाली भिडियादेखि देश विदेशमा रहेका नेपालीहरूको समेत साथ चाहेको बताइन् ।
 

 

प्रतिक्रिया दिनुहोस