इजरायलमा हिंसात्मक झडप, गाजामा इजरायली बमबारी जारी

एजेन्सी

विहीबार, ३० बैशाख २०७८, १६ : १४
इजरायलमा हिंसात्मक झडप, गाजामा इजरायली बमबारी जारी

जेरुसेलम । गाजा क्षेत्रबाट इजरायली मूल भूमितर्फ क्षेप्यास्त्र प्रहार भइरहँदा इजरायलभित्रैका अरब र यहूदी समुदायबीच सडकमा हिंसात्मक झडपहरु भएका छन् । धेरै वर्षपछि पहिलो पटक देखिएको यस हिंसामा उत्रेका दुबै समुदायले सवारी साधन, रेस्टुराँ र यहूदी प्रार्थनागृह सिनागगमा आगो लगाइदिएका छन् ।

दुबै समुदायको मिश्रित बसोबास रहेको शहर लोडका मेयरले मङ्गलबारको यस हिंसात्मक झडपलाई गृहयुद्ध वा प्यालेस्टिनीको पुनः उदयसँग तुलना गरे । अरब विज्ञहरु एवं अधिकारवादीहरुले जेरुसेलममा भड्किएको हिंसाका कारण दुबै समुदायबीच हिंसा फैलिएको बताएका छन् । जेरुसेलम घटनाले अर्को गाजा युद्ध निम्त्याउने सम्भावना बढाएको छ ।

बुधबार राति पनि हिंसा पुनः भड्किएको थियो र एकअर्कामाथि प्रतिशोध राखेर आक्रमणहरु भएका थिए । तेल अभिभको बाहिरी इलाका बाट याममा दक्षिणपन्थी राष्ट्रवादी इजरायलीको ठूलो समूहले अरब व्यक्ति चढेको आशंकामा एउटा कारलाई रोकेर ती व्यक्तिलाई रक्ताम्य हुनेगरी भुइँमा पछारेर बेस्करी कुटपिट गरे । पछि अस्पताल भर्ना गरिएका ती व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताइएको छ ।

यसअघि, कालो पहिरनमा उत्रेका इजरायलीले बाट यामकै एउटा अरब व्यक्तिले सञ्चालन गरेको आइसक्रिम पसलका झ्यालका सिसा फुटाइदिएका थिए । अतिवादी यहूदीहरुले टेलिभिजनको प्रत्यक्ष प्रशारणमै ‘अरबीहरु मर्नुपर्छ,’ भन्दै नाराबाजी गरिरहेका थिए । उत्तरी शहर टिबेरियाजमा इजरायली झण्डा बोकेका अतिवादीहरुले सम्भवतः अरबी चढेको कारमाथि ढुङ्गामुढा गरिरहेको दृश्य सामाजिक सञ्जालमा राखिएको थियो ।

इजरायलको च्यानल १३ ले एक जना वरिष्ट प्रहरी अधिकृतलाई उद्धृत गर्दै तटीय शहर अकरमा अरबी व्यक्तिहरुले एक जना यहूदी व्यक्तिमाथि कुटपिट गरेर सख्त घाइते बनाएको खबर प्राप्त भएको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस