अाज राष्ट्रिय सहकारी दिवस

सहकार्यका लागि सहकारी, सहकारीका लागि सहकार्य

मंगलबार, २० चैत्र २०७४, ०९ : २३
सहकार्यका लागि सहकारी, सहकारीका लागि सहकार्य

सूर्यप्रकाश कँडेल
हरेक वर्ष चैत २० गते अर्थात् आजकै दिन राष्ट्रिय सहकारी दिवस मनाइन्छ । चितवनको शारदानगर, बखानपुरमा नेपालकै पहिलो बखान सहकारी स्थापना भएको दिनलाई राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउन थालिएको हो । विगतमा झैं यस वर्ष पनि चितवनमात्र नभई सिंगो देशभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । सहकारी शब्दले सामूहिक काम भन्ने अर्थ दिन्छ । सामूहिक काम भनेको एकभन्दा बढी व्यक्ति वा संस्था मिलेर गरिने काम हो । यसका लागि सहयोग वृद्धि अनिवार्य मानिन्छ । एकअर्काको सहयोगबिना सहकार्य सम्भव हुँदैन । सहकारिताको अर्थ पनि यही हो । निश्चित उद्देश्य पूरा गर्नको लागि योजनावद्ध तरिकाले सहकारीबीच सहयोग वृद्धिको वातावरण बनाउन सक्ने हो भने नेपालमा सहकारी क्षेत्रमा देखा परेको उद्योग स्थापनाबाट रोजगारीको सिर्जना गर्न नसकिएको समस्यालाई केही हदसम्म समाधान गर्न सकिन्छ । 
बृहत् नेपाली शब्दकोषका अनुसार, सहकारी शब्दले एकसाथ मिलेर काम गर्ने, साथसाथै काम गर्ने भन्ने अर्थ दिन्छ । यसको अर्को अर्थ सहयोगी र साथी भन्ने रहेको छ । शब्दकोषमा सहकारी संस्थाको अर्थ ‘सामान्यतः किसान, मजदुर वा साना पुँजी भएका व्यवसायी वा उपभोक्ताहरुले साझा रुपमा मिलेर सबैको कल्याणका निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रबन्ध गर्ने र पुँजी तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था’ भनी उल्लेख छ । सहकारी संस्था स्वायत्त आत्मनिर्भर र स्वतन्त्र संस्था भएकोले यसले नियमको परिधिभित्र रहेर काम गर्नुपर्ने हुन्छ । सदस्यहरुबाट प्रजातान्त्रिक नियन्त्रण हुने भएकोले सहकारी संस्थाहरुमा ऐच्छिक तथा खुला सदस्यता हुनुपर्ने कुरा सहकारीको सात सिद्धान्तभित्रै पर्छ । यी सिद्धान्तभित्र सहकारीबीच सहयोग पनि पर्दछ । यसलाई अर्को शब्दमा हामी सहकारिताको रुपमा पनि चिन्छौँ । नेपाली शब्दकोषले धेरै व्यक्ति एकसाथ मिलेर काम गर्ने भावना वा काम गर्ने प्रवृत्तिलाई सहकारिता भनेको छ । सहकारिताको अर्को अर्थ उपभोक्ता वा व्यवसायीहरु मिलेर सबैको हितका निम्ति कुनै मालसामान बनाउने वा बिक्री गर्ने काम पनि हो । यसका लागि पनि सहकारीबीच सहयोग र सहकार्य आवश्यक छ ।
नेपाली वित्त बजारसँग रहेको कूल रकम दुई खर्ब रुपैयाँमध्ये पाँच प्रतिशत अर्थात् दस अर्ब रुपैयाँ नेपालभरका ३० हजारभन्दा बढी सहकारीसँग बचतका रुपमा रहेको छ । यो दस अर्बमध्ये ४५ प्रतिशत रकम राजधानी र ५५ प्रतिशत रकम राजधानीबाहिरका सहकारीसँग छ । यति ठूलो रकम भएर पनि सहकारी संस्थाहरुले आफ्नो लगानीलाई उद्योग स्थापना, स्वरोजगार र आयमुलक काममा ठूलो मात्रामा लगानी गर्न भने सकेका छैनन् । अझैपनि सहकारीको ठूलो रकम व्यवसाय र घरेलु प्रयोजनका लागि नै लगानी भएको पाइन्छ । घरजग्गा खरिदजस्तो अनुत्पादक काममा सहकारीको धेरैजसो रकम लगानी भइरहेको छ । यो रकमलाई उत्पादनमूलक र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्नु सहकारीहरुको लागि चुनौतीको विषय बनेको छ । यसले पनि सहकारीबीच सहयोग र सहकार्य आजको टड्कारो आवश्यकता बन्दै गएको कुरा प्रष्ट हुन्छ । 
जबसम्म हामीले पुँजीलाई उत्पादनसँग जोड्न सक्दैनौँ, तबसम्म बेरोजगारी समस्याको अन्त्य हुन सक्दैन । नेपालमा सहकारीबीच सहयोग र समन्वयका लागि राष्ट्रिय र जिल्लास्तरीय संगठन रहेका छन् । केन्द्रीय र जिल्ला सहकारी संघ तथा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) र त्यसका जिल्ला शाखा यसका उदाहरण हुन् । यतिलेमात्र सहकारीबीच सहयोग अभिवृद्धि भएको पाइँदैन । ती संस्थाहरुको क्रियाशिलतामा कमि र आमसहकारी संस्थाको पहुँचमा ती संस्था नपुग्नु वा ती संस्थाको नेतृत्वमा पुग्नेहरुले सबै सहकारी संस्थालाई मिलाएर अघि बढाउन नसक्नुले अब सहकारीबीच सहयोग वृद्धिका लागि स्थानीय तहमा सञ्जाल निर्माणको आवश्यकता बोध गराएको छ । सहकारी संस्थाहरुबीचको समन्वय र सहकार्यबाट नै सहयोग वृद्धि गर्न सकिन्छ । चितवन जिल्लामा विशेषतः भरतपुर नगर क्षेत्रभित्र रहेका सहकारीबीच सहयोग वृद्धि गर्न निम्नलिखित विकल्पबारे सोच्न सकिन्छ । यी विकल्पहरुलाई मूर्तरुप दिन सकेमा चितवनको सहकारी क्षेत्रमा उदाहरणीय काम गर्न धेरै कठिन छैन ।
सहकारीबीच सहयोग वृद्धिका केही उपाय ः
(१) भरतपुर महानगर क्षेत्रभित्र रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको सञ्जाल निर्माण गरी कुनै एउटा सहकारीलाई समस्या परेका बेला अरु सहकारीबाट सहयोग लिन सकिन्छ । एकता नै बल भएकोले यस्तो सञ्जाल निर्माण हुन सके नगर क्षेत्रका बचत तथा ऋण सहकारी बलियो हुन सक्छन् । यस्तै प्रकृतिको जिल्ला सहकारी संघ नभएको होइन, तर देश संघीयतामा गइसकेको हुँदा अब स्थानीय तहलाई नै बलियो बनाउनु पर्छ । जिल्लागत संरचना बिस्तारै अस्तित्वमा नरहन पनि सक्ने भएकोले विकल्पमा अहिलेदेखि नै स्थानीय तहस्तरीय सहकारी सञ्जालहरु निर्माण गर्न सकिए त्यसले एकता र सहकार्यलाई नै बल पुग्नेछ ।
(२) शेयर सदस्यहरुका लागि सहकारी शिक्षा, तालिम र सूचना सहकारीका सात सिद्धान्तभित्र पर्ने कुरा हुन् । यसको अभावमा अधिकांश सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी भनेको सेवा पनि हो, नाफामात्र होइन भन्ने बुझाउन सकेका छैनन् । सहकारी शिक्षाका लागि सामूहिक कार्ययोजना बनाएर सहयोगको क्षेत्र फराकिलो पार्न सकिन्छ । यस्तो कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहस्तरीय सहकारी संस्थाबीच सहकार्य चाहिन्छ ।
(३) सहकारीसँग रहेको बचत रकमलाई उत्पादनमूलक काममा लगाउन सामूहिक लगानीमा उद्योग स्थापना एउटा राम्रो विकल्प हुन सक्छ । कुनै एउटा सहकारीले एक्लै उद्योग सञ्चालन गर्दा जोखिम एक्लै बेहोर्नुपर्ने हुन्छ । यस्तो जोखिम सामूहिक रुपमा वहन गर्दा एउटा सहकारीलाई धेरै बोझ पर्दैन । एउटै सहकारीले ठूलो रकम खर्चेर उद्योग स्थापना गर्न नसक्ने हुँदा सामूहिक रुपमा धेरै सहकारी मिलेर उद्योग सञ्चालन गर्न कुनै कठिनाई हुँदैन । योजनावद्ध रुपमा एकीकृत ढंगले पुँजीलाई उत्पादनसँग जोड्ने यस्तो काम गर्न सकेमा अन्य सहकारीका लागि यो उदाहरणीय काम बन्न सक्छ ।
(४) सहकारी सूचनालाई व्यवस्थित बनाउन चितवन जिल्लामा एउटा सहकारी पत्रिका प्रकाशनको खाँचो भैसकेको छ । सूचनालाई गाउँगाउँसम्म पु¥याउन सहकारी पत्रिका प्रकाशन र रेडियोमा सहकारी कार्यक्रमको सञ्चालन प्रभावकारी बन्न सक्छ । यस दिशामा अहिलेसम्म कुनै काम हुन नसकेको हुँदा सहकारीहरुबीचको सहयोगले यसलाई सम्भव बनाउन सकिन्छ । सहकारीका क्षेत्रमा भएका काम, उपलब्धि र सूचनालाई व्यवस्थित रुपले सहकारी सदस्यहरुबीच पु¥याउन सकेमा यसले दीर्घकालीन रुपमा सहकारी आन्दोलनलाई नै बल पु¥याउन सक्छ । केही वर्षअघि नै यस्तो आवश्यकता महसुस गरिएपनि अहिलेसम्म चितवनबाट सहकारी विषयगत पत्रिका निस्कन सकेको छैन । यसका लागि सहकारी संस्थाहरुले पनि सहयोग गर्नु पर्छ ।
५) सूचना र प्रविधिको प्रयोगले पनि सहकारीबीचको सहयोगलाई वृद्धि गर्न सकिन्छ । जिल्लामा रहेका केही सहकारीमा अझैपनि इमेल र इन्टरनेटको प्रयोग हुन सकेको छैन । महानगर क्षेत्रका बचत तथा ऋण सहकारी संस्थामा इमेल र इन्टरनेटको प्रयोग समयको माग भइसकेको छ । प्रविधिको यो सञ्जालभित्र हामी पस्यौँ भने संस्थागतरुपमा एकअर्काबीच सूचनाको आदानप्रदान गर्न सकिन्छ । इन्टरनेटको माध्यमबाट फेसबुक, ट्वीटर, स्काइप, वाट्सएप लगायतका सामाजिक सञ्जालको प्रयोग गरी आफ्ना शेयर सदस्यलाई सूचनाहरु प्रभावकारी रुपले पु¥याउन सकिन्छ ।
६) आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणका लागि एकतावद्ध कार्य सहकारीबीचको सहयोग र समन्वयबाट नै सम्भव हुन्छ । नगर क्षेत्रमा रहेका बचत तथा ऋण सहकारीले ब्याजदरमा एकरुपता, सामाजिक कार्यमा सामूहिक हातेमालो र चाडपर्वलाई मितव्ययी बनाउने अभ्यासबाट आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणमा उल्लेख्य भूमिका खेल्न सक्छन् । उन्नत समाज निर्माणमा सहकारीको भूमिका प्रभावकारी हुने भएकोले समुदायप्रति चासो व्यक्त गर्दै सहकारी संस्थाहरुले समाजका विकृति, कुरीति र आर्थिक असमानताको खाडल पुर्ने काममा सक्रियता देखाउनु पर्छ ।
पछिल्लो समयमा सहकारीलाई बैंककै सानो रुपजस्तो बुझ्ने गरिएको छ । यो सरासर गलत बुझाई हो । बैंकहरु भनेका नाफामुखी हुन्छन्, सहकारी सेवामुखी हुनुपर्छ । आफ्ना सदस्यबाट संकलित पुँजी सदस्यकै उत्थानको लागि परिचालन गर्नु सहकारीको मुख्य काम हो । एकीकृत पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारीको सिर्जना गर्ने, उद्यमशिलता वृद्धि गर्ने दिशामा सहकारीले काम गर्नु पर्छ । नाफामुखी नभई सेवामुखी भएर काम गर्दै गएमा सहकारीले देशको अर्थतन्त्रमै टेवा पु¥याउन सक्छ । सरकारको तीनखम्बे अर्थनीति अन्तर्गत सहकारीलाई पनि समेटिएकोले सहकारीले आफ्नो गम्भीर दायित्व महसुस गरी पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ । यसका लागि सामूहिक प्रयास प्रभावकारी हुने भएकोले सहकारीबीच सहकार्य र एकता अपरिहार्य छ । सहकार्यका लागि सहकारी, सहकारीका लागि सहकार्य भन्ने भावना सबैमा जागृत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस