कर्णाली । विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट पछिल्लो समयमा कर्णाली प्रदेश प्रभावित बन्दै गएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक ४० देखि ६० प्रतिशतका दरले बढ्दै गएको छ । गत असोजयता केही कम हुँदै गएको कोभिड–१९ पुनः चैतदेखि सक्रिय हुँदा नियन्त्रणमा आउन सकेको छैन ।
प्रदेश सरकारले कोरोना भाइरस प्रतिकार्य, नियन्त्रण, रोकथाम तथा उपचारका लागि गत वर्ष नै कोरोना विशेष अस्पतालका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी अस्पताल रुकुमपश्चिम स्थापना गरेको थियो । त्यसअनुसार प्रदेश अस्पतालमा हाल २००, प्रतिष्ठान जुम्लामा १२० र चौरजहारी अस्पतालमा १५ आइसोलेशन श्यया तयार गरिएका छन् ।
त्यस्तै यस प्रदेशका सबै जिल्ला गरेर ८९८ आइसोलेशन श्यया, १४७ आइसियु र ३५ भेन्टिलेटर छन् । कोरोना सङ्क्रमितमा ३४७ जना आइसोलेशनमा र होम आइसोलेशनमा तीन हजार ७५० जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।
प्रदेश सरकारले प्रत्येक जिल्ला अस्पतालमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि रु एक÷एक करोड बजेट निकासा पठाइसकेको छ । यद्यपि कोरोना सङ्क्रमितको सबैभन्दा बढी चाप अहिले प्रदेश अस्पताल सुर्खेतमा छ । कोरोना सङ्क्रमण समुदायमा मात्र नभई प्रत्येक परिवार सदस्यसम्म फैलिँदै गएपछि स्थानीय तहले पनि आफ्नो तयारी थालेका छन् ।
प्रदेश राजधानीमा रहेको अस्पतालमा गम्भीर खालका कोरोना सङ्क्रमितको चाप बढ्दै गएपछि वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आवश्यक जनशक्तिसहित २५ श्ययाको कटकुवा कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले चौबिसै घण्टा सेवा दिने गरी कोभिडका बिरामी बोक्न छुट्टै एम्बुलेन्सको व्यवस्था गरेको नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिए । नागरिकको जीउधनको सुरक्षाका लागि नगरपालिकाले आफ्नै कोभिड अस्पताल स्थापना गर्नु परेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २९ बैशाख २०७८, १३ : ४९
लेखकबाट थप