माधव नेपाल पक्षलाई कांग्रेसको प्रस्ताव : राजीनामा दिए आगामी उपनिर्वाचनमा जिताउँछौँ

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १३ : १५
माधव नेपाल पक्षलाई कांग्रेसको प्रस्ताव : राजीनामा दिए आगामी उपनिर्वाचनमा जिताउँछौँ

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका माधव नेपाल पक्षका सांसदलाई राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गरे आगामी उपनिर्वाचनमा जिताउने वचन दिएको छ । 

नयाँ सरकारको नेतृत्व लिन अग्रसर भएर लागेको नेपाली कांग्रेसले एमाले माधव नेपाल पक्षलाई राजीनामा दिएर कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरिरहेको छ ।  सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन कांग्रेसलाई एमालेको माधव नेपालका सांसदहरुको खाँचो पर्छ । 

केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भवना रोक्न माधव पक्षका सांसदहरूलाई यतिबेला कांग्रेसले विभिन्न ‘ललिपप’हरु देखाइरहेको छ । माधव नेपाल पक्षका केही सांसद राजीनामा दिन तयार छन् यद्यपि संख्या कति हुन्छ भन्नेमा स्वयम् माधव नेपालमै विश्वास छैन । माधव नेपाल पक्षका केही सांसद राजीनामा गरेर कांग्रेसको सरकारलाई सहयोग गर्न तयार छैनन् । 

कांग्रेसले माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदहरूले राजीनामा दिने अपेक्षा गरेको छ । संसदको अंकगणितमा माओवादी केन्द्र र जसपा उपेन्द्र पक्षको समर्थन पाइसकेको कांग्रेसले माधव पक्षका सांसदहरुले राजीनामा दिए बहुमत पुग्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस नेताका अनुसार माधव नेपाल र भीम रावलले जति सांसदले राजीनामा दिँदा ओलीको सम्भावना टर्छ त्यति जनाको राजीनामा गराउने वचन दिएका छन् । कांग्रेस सभापति देउवाले मंगलबार बेलुकी नेपाल र रावलसँग निवासमै छलफल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस