अक्सिजन अभावमा टीकापुरमा २ दिनको अन्तरालमा १२ जना कोरोना संक्रमितको मृत्यु

पत्रपत्रिकाबाट

मंगलबार, २८ बैशाख २०७८, ०८ : १२
अक्सिजन अभावमा टीकापुरमा २ दिनको अन्तरालमा १२ जना कोरोना संक्रमितको मृत्यु

टीकापुर । कैलालीको टीकापुर अस्पतालमा दुई दिनमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिरामीको चापअनुसार अक्सिजन उपलब्ध नहुँदा संक्रमितले ज्यान गुमाउनुपरेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

अस्पतालका कोरोना फोकल पर्सन डा। रमेश उपाध्यायले सीमित सिलिन्डरका कारण बिरामीले अक्सिजन नपाउने अवस्था रहेको बताए । ‘सिलिन्डर रिफिल गर्न लैजाँदा अक्सिजन लिइरहेको बिरामीको बीचैमा ब्रेक हुने अवस्था छ,’ उनले भने, ‘अक्सिजनको ब्याकअप नहुँदा नियमित अक्सिजन नपाउने र बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था छ ।’

अस्पतालमा सोमबारसम्म कोरोनाका बिरामीलाई करिब ४५ सिलिन्डर रनिङ अवस्थामा रहेको उनले बताए । उनका अनुसार एउटा बिरामीलाई निको हुँदासम्म सरदर ७ सिलिन्डर अक्सिजन आवश्यकता पर्छ । सिलिन्डरको अभावसँगै रिफिल गर्न नेपालगन्ज जानुपर्ने बाध्यताले थप समस्या निम्तिएको हो ।

संक्रमित बिरामी गम्भीर भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या भइरहेको चिकित्सकहरू बताउँछन् । ‘सुरुमा ज्वरो आउने अनि हराउने हुन्छ । खोकी लाग्छ, छातीमा समस्या हुन्छ,’ डा। उपाध्यायले भने, ‘सुरुमै ज्वरो आउँदा बिरामीले वास्ता गर्दैनन् । आठ दिनपछि छाती खराब भइसकेपछि अस्पताल आउँछन् । अवस्था जटिल भइसकेको हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस