सङ्क्रमणबाट १८ जनाको मृत्यु

रासस

सोमबार, २७ बैशाख २०७८, १९ : ३७
सङ्क्रमणबाट १८ जनाको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट समुदायस्तरमा फैलिएपछि ज्यान गुमाउनेको सङ्ख्या समेत बढेको छ ।

टीकापुर नगरपालिकामा मात्रै यही वैशाख महिनामा सङ्क्रमणबाट  १८ को मृत्यु भएको छ । नगर जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलका अनुसार दुई दिनमा मात्र सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या नौजना पुगेको छ । 

जानकी गाउँपालिकामा पनि  सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ  । पछिल्लो २४ घण्टामा टीकापुर अस्पतालमा उपचाररत आठ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो जोशीपुर गाउँपालिका वडा नं १ का ५० वर्षका पुरुष र वडा नं ५ का ६० वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ की ४५ र ५१ वर्षीया दुई र वडा नं ७ का ६० वर्षीया महिला र सोही वडाका ६७ वर्षका पुरुष, बर्दगोरिया गाउँपालिका वडा नं ४ का ४५ वर्षका पुरुष, जानकी गाउँपालिका वडा नं १ का ५८ वर्षका  पुरुषको मृत्यु भएकोे अस्पतालले जनाएको छ  ।

टीकापुर अस्पतालमा आइतबारमात्रै छ जनाको ज्यान गएको थियो । टीकापुर अस्पतालमा मात्र दुई दिनमा मृतकको संख्या १४ पुगेको छ । टीकापुर अस्पतालमा उपचारमा आएका १६ जनाले  सङ्क्रमणका कारण ज्यान गुमाएका अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राईका अनुसार मृतक सबैमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको र अक्सिजनको मात्रा पनि कम हुँदै गएको थियो । सो अस्पतालमा सोमबार ४१ जना उपचाररत छन् । यी सबैलाई अक्सिजनमा राखिएको छ । अस्पतालको कोभिड एचडीयु वार्डमा १४  र शंकास्पद २७  भर्ना भएका र आवश्यक मात्रामा अक्सिजन नपुगेको अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिनुभयो । ‘‘टीकापुर अस्पतालसँग जम्मा १२४ अक्सीजन सिलिण्डर छन्, यी अस्पतालमा आउने सबै विरामीका लागि प्रयोग हुन्छन्’’, उहाँले भन्नुभयो, ‘‘अहिले सबैभन्दा अक्सिजन नपाएर बिरामीको ज्यान जाने जोखिम बढेको छ । बेड नभएर बिरामीहरु बरण्डा, ग्यालरीमा राखेर उपचार भइरहेको छ ।’’

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा पनि सोमबार चार  जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउपालिका वडा नं ४ का ५२ वर्षका पुरुष, धनगढी उपमहानगरपालिका वडा नं ३ का ८७ वर्षका महिला, वडा नं १८ का ४२ वर्षका पुरुष र घोडाघोडी नगरपालिका वडा नं १० का ३७ वर्षका पुरुषकोे मृत्यु भएको छ  सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रादेशिक अस्पतालमा ५८ सङक्रमित र ३० जना संकास्पद बिरामीको उपचार भैरहेको उहाँले बताउनुभयो ।