जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका – ५ काडाखोला जलजलामा फुजि स्याउ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि. का अध्यक्ष मीनबहादुर भण्डारीले ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा आधुनिक स्याउ बगैँचा निर्माण गरेका छन् ।
कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा .राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउको विरुवा रोपेर बगैँचा शुभारम्भ गरे । उनले भने ,“ लकडाउनको समयमा बगैँचामै नआउनु पर्ने हो । डाक्टरले बिरामीलाई छोड्न सक्दैन् कृषि सचिवले किसान छोड्न सकेन । बगैँचामै पुगेर किसानलाई हौसला दिनु दायित्व ठाने ।”बगैँचामा एकैपटक ३० हजार विरुवा रोपिएको हो ।
स्याउको प्रशोधन, बजारीकरण, कृषि सडक लगायतका प्राविधिक सहयोग गर्न सक्ने उनले जानकारी दिए। एग्रो फार्मका सहजकर्ता दानबहादुर बुढाले भने ,“ यो बगैँचा स्थापनाको कामले पूर्णता पाएसंगै केही आशाका किरण पलाएको छ ।
” उनले बगैँचामा विरुवा रोप्नुअघि बगैँचाको आकार प्रकार तयार भएको , ८७ जनाले जग्गा भाडामा दिएको र एक लाख ५० हजार बर्गमिटर जग्गामा पूर्वाधारसहितको बगैँचा निर्माण गरिएको जानकारी दिए ।
बगैँचा स्थापनाको लागि झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ । उनका अनुसार एक दिनमा २५० कामदारले रोजगार पाउनुका साथै एक आयोजना प्रमुख, दुई लेखापाल, एक ओभरसियर , दुई स्टोर किपर , १२ हेल्पर , चार जेटिए र चार चौकीदार राखिएको छ । दुई सहजकर्ता, तीन चालक र तीन सहचालक राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २६ बैशाख २०७८, १३ : २४
लेखकबाट थप