‘एक पत्रकार एक ल्यापटप अभियान’ जारी

रासस

आइतबार, २६ बैशाख २०७८, १२ : ५५
‘एक पत्रकार एक ल्यापटप अभियान’ जारी

सांकेतिक तस्वीर

बागलुङ । पत्रकार महासङ्घ बागलुङ शाखाले शुरुआत गरेको ‘एक पत्रकार एक ल्यापटप’ अभियानमा सहयोग जुट्न थालेको छ । शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर पारेर सोमबारदेखि शुरु गरेको अभियानमा केही ल्यापटप खरीदका लागि केही सहयोग जुटेको  शाखाका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

अभियानमा हालसम्म पाँच ल्यापटपका लागि रकम जुटिसकेको उनले थप २० जनाले ल्यापटप खरीदका लागि रकम प्रदान गर्ने प्रतिबद्धता जनाएको बताए । “नयाँ नेतृत्वले ल्याएको एक पत्रकार एक ल्यापटप अभियानलाई विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभारम्भ गरी शाखाको स्थापना दिवसका अवसरमा आगामी असार २५ गते पत्रकारलाई ल्यापटप प्रदान गरिनेछ”, उनले भने, “ल्यापटप वितरणका लागि कार्यविधि तयार गरी आवश्यकता र क्रियाशीलताका आधारमा ल्यापटप प्रदान गरिन्छ ।” अभियान तीन वर्षसम्म चलाइने र  अभियानको कूल खर्च रु ७० लाख रहेको छ । 

‘घर पछिको रहर : सही सूचना प्रविधियुक्त हात, हरेक पत्रकार ल्यापटपका साथ’ अभियानको औपचारिक शुभारम्भ भएसँगै करीब पाँच पत्रकारलाई ल्यापटप प्रदान गर्न सकिने आर्थिक सङ्कलन भएको छ । पत्रकार महासङ्घले यसअघि ‘हामी सबैको रहरः पत्रकार महासङ्घको घर’ सञ्चालन गरी झण्डै रु एक करोड २० लाख लागतमा बागलुङ बजारमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस