माधव नेपाल पक्षका यी सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १२ : १७
माधव नेपाल पक्षका यी सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर

काठमाडौँ । नेकपा एमालेका माधव नेपाल समूहका २२ जना सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् । राजीनामा दिने माधव नेपाल पक्षका २२ जना सांसदले हस्ताक्षर गरेर नेता माधव नेपाललाई बुझाइसकेको स्रोतले जनाएको छ । 

आज दिनभर अन्तिम प्रयास गर्ने र सहमति नजुटे सामुहिक राजीनामा बुझाउने गरी नेपाल समूहले सांसदहरुको हस्ताक्षर तयार गरेको छ । आज बस्ने स्थायी कमिटी बैठकपछि पत्रकार सम्मेलन गरी राजीनामाबारे ब्रिफिङ गर्ने तयारीमा माधव नेपाल समूह पुगेको छ । अन्तिम प्रयासस्वरुप फेरि एकपटक प्रधानमन्त्री केपी ओली पक्षका दोस्रो तहका नेताबीच वार्ता हुने माधव नेपाल समूहले जनाएको छ ।  

झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल,योगेश भट्टराई, गोकर्ण बिष्ट,कृष्णलाल महर्जन, विरोध खतिवडा,गणेश पहाडी, दीपकप्रसाद भट्ट,भवानीप्रसाद खापुङ,जयकुमार राई,पवित्रा निरौला,नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल,यज्ञराज सुनुवार र राजबहादुर बुढाले राजीनामा पत्रमा हस्ताक्षर गरेको स्रोतले जनाएको छ । तर नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षका लागि सांसद बनाएकाले बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताए ।

ओली पक्षका नेताहरुले माधव नेपाल पक्षले राजीनामा गर्ने अवस्था आएमा अन्तिममा १५ सांसद पनि नपुग्ने दावी गरिरहेका छन् । ओली पक्षका एक नेताले भने, ‘मलाई विश्वास छ, आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन राजीनामा बुझाउँदैनन्, बुझाए भने पनि १५ सांसद पुग्दैनन् ।’ जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा जस्तै देशैभरि ओलीविरोधी गठवन्धन बनाउने विपक्षीको तयारी छ ।

राष्ट्रिय सभाको सदस्य पदमा डा खिमलाल देवकोटालाई उठाएजस्तै, सोही मोडलमा देशैभर गठवन्धन बनाएर ओलीलाई सबक सिकाउने तयारीमा नेपाल समूह जुटिसकेको छ । पहिलो चरणमा जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा निर्वाचनमा ओली पक्षका उम्मेदवार रामबहादुर थापाविरुद्धको विपक्षी गठवन्धनमा नेपाल समूहका डा खिमलाल देवकोटालाई अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस