माधव नेपाल पक्षका २० जना सांसदको राजीनामा तयार

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, ०८ : ४६
माधव नेपाल पक्षका २० जना सांसदको राजीनामा तयार

काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने अन्तिम प्रयास अन्ततः असफल हुने देखिएको छ । माधव नेपाल पक्षका सांसदहरुले बैठक अब केहीबेरमै बस्ने भएको छ । माधव नेपाल पक्षका २० जना सांसदको राजीनामा तयार भइसकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार राजीनामा गर्ने सांसदको संख्या अझ बढ्ने देखिन्छ । 
वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने अन्तिम तयारीमा माधव नेपाल समूह जुटिरहेको छ । 

पटकपटक दोस्रो तहका नेताहरुबीच भएको भएका वार्ताहरु सफल नभएपछि माधव नेपालका सांसद राजीनामा दिन लागेका हुन् ।  कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको माधव नेपाल पक्षले जनाएको छ ।

नेपाल पक्षका २० सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका स्रोतको भनाइ छ ।  माधव नेपाल समूहले केपी ओलीलाई सत्ताच्यूत गरेपछिमात्र नयाँ आधारमा एमालेको एकता खोज्ने जनाउन थालेका छन् । माधव पक्षका एक सांसदले  एमाले एकता जोगाउन सकिएन, राजीनामा हस्ताक्षर भइसकेको र अब बुझाउनमात्र बाँकी रहेको बताए । 

कांग्रेस सभापति शेरवहादुर देउवाले माधव पक्षका सांसदको राजीनामा नआई ओली हटाउने प्रक्रिया अघि बढाउन नचाहेपछि नेपाल निकट सांसदको राजीनामा पत्रमा हस्ताक्षर गराइएको हो । एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन्, तर कोकोले राजीनामा गर्दैछन् भन्ने हालसम्म खुलेको छैन । 
 

प्रतिक्रिया दिनुहोस