कोरोनाबाट पत्रकार दाहालको निधन

रासस

शनिबार, २५ बैशाख २०७८, १८ : २७
कोरोनाबाट पत्रकार दाहालको निधन

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना सङ्क्रमणका कारण आज निधन भएको छ । 

यही वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहेका पत्रकार दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।  उपचारको क्रममा आज उनको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्तिमार्फत ४० वर्षको अल्पायुमै कोरोनाका कारण उनको निधन भएको खबरले स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन् । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रूपमा काम गरेका थिए। पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक÷प्रकाशकका रूपमा पत्रकारितामा सक्रिय थिए ।  स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

महासङ्घले स्वर्गीय पत्रकार दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । शोकको यस घडीमा महासङ्घ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ । कोरोनाकै कारण हालसम्म आठ पत्रकारको निधन भएको जानकारी दिँदै महासङ्घले हालसम्म  ६५० पत्रकार सङ्क्रमित भएको तथ्याङ्क दिएको छ ।

पछिल्लो केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको छ । कोरोना सङ्क्रमण चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न महासङ्घले सबै सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस