दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन ,अभाव छैन

रासस

शुक्रबार, २४ बैशाख २०७८, १७ : ५२
दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन ,अभाव छैन

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ मा अवस्थित ‘हाम्रो अक्सिजन ग्याँस उद्योग प्राली’ले दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ ।हाल उद्योग चौबिसैघण्टा निरन्तर सञ्चालन गरेर दैनिक सातसय ठूलो सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको प्रालीका सञ्चालक प्रदीपकुमार सेढाईले जानकारी दिए ।

उनको अनुसार कम्पनीको क्षमता आठसय सिलिण्डर गर्नसक्ने भएपनि विद्युत आपूर्तिमा हुने गरेको गढबढीका कारण केही क्षमता भन्दा केही कम उत्पादन भएको हो । कम्पनीको अनुसार एक सिलिण्डरमा ४७ लिटर अक्सिजन भर्ने गरिएको छ । “यसअघिका दिनमा उत्पादन गरिएका अक्सिजन अस्पताल सहित अन्य उद्योग तथा कलकारखानामा समेत उपलब्ध गराउदै आएकोमा यही वैशाख २० गते बसेको उद्योगको सञ्चालक समितिको बैठकले हाल कोरोना सङ्क्रमित बिरामीको लागि देशभर अक्सिजनको अभाव भएसगैँ अस्पताल र बिरामीको लागी मात्रै उपलब्ध गराउने निर्णय गरेको छ ।” उनले भने “कम्पनीबाट यसअघि कोही कसैले लगेर खाली बनाएर राखेका खाली सिलिण्डरको खोजी र मौजुदा राखेको भए सङ्क्रमण अवधिको लागी कम्पनीलाई नै उपलब्ध गराउन अपिल गरेको छ ।”

कोरोना सक्रमित बिरामीको लागी एक दिनमा ठूलो सिलिण्डर करिब एकवटा प्रयोग हुने भएकाले जिल्लाको लागि अक्सिजनको माग पूरा भएपछि काठमाडौ लगायत माग भएर आएका अस्पतालमा पठाउने उद्योगका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए । उनको अनुसार हाल कोरोना रोगको सङ्क्रमणको दरमा भैरहेको बृद्धि र उपचारको लागि अक्सिजन सहितको सेवा अत्यावश्यक रहेको समयमा चौबिसै घण्टा उद्योग चलाएर अधिकतम सेवा प्रवाहमा केन्द्रित गरिएको छ । 

ककनीमा रहेको अक्सिजन उद्योगको लागी यहाँको देवीघाट स्थित सवस्टेशनबाट लगिएको प्रशारण लाइनको विद्युतमा दैनिक जसो हुने गढबढीको कारण लक्ष्य अनुसार उत्पादनमा भने कठिन देखिएको छ । “उद्योगको क्षमता अनुसार उत्पादन गर्न सकिएको छैन, नियमित विद्युत् आपूर्ति भएमा प्रतिदिन नौ सय सिलिण्डर उत्पादन गर्न सकिन्छ ।” अध्यक्ष पाण्डेले भने , “विद्युत्मा रहेको समस्या समाधानका लागी पहल गर्न जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रलाई अनुरोध गरेकाले समस्या समाधान भएमा उत्पादन बृद्धि गर्दै लैजान्छौ ।”  

प्रतिक्रिया दिनुहोस