प्लान्ट मर्मत नहुँदा अक्सिजन अभाव हुने चिन्ता

रासस

विहीबार, २३ बैशाख २०७८, २० : ०९
प्लान्ट मर्मत नहुँदा अक्सिजन अभाव हुने चिन्ता

काठमाडौं । कोरोनाका सङ्क्रमित दिनदिनै बढिरहेको बेला धौलागिरि अस्पतालमा रहेको अक्सिजन प्लान्ट मर्मत नहुँदा अक्सिजन अभाव हुने चिन्ता बढेको छ । सामाजिक विकास मन्त्रालयले बजेट निकासा नगर्दा खर्चको जोहो गर्न पालिकातर्फ मुख ताक्नुपरेको कोभिड व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी  शिवकुमार कार्कीले जानकारी दिनुभयो । 

अस्पतालमा आइसियू थप्नुपर्ने दबाव पनि छ । सङ्कटका समयमा बजेट निकासा नहुने  आवश्यकता बढी भैरहेकोले खर्चको जोहोबारे समितिमा समेत कार्यसूचि  बनिरहेको हो । “अस्पताल व्यवस्थापनले खर्च अभाव भएको बताएपछि पालिकातर्फ जोहो गर्दैछौं ” उहाँले भन्नुभयो, “निकासामा किन ढीलाई भयो त्यो खोज्न लगाएको छु ।” बजेट निकासा नभएकोले समितिमार्फत पालिका तहमा हारगुहार गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 

श्वासप्रश्वासको समस्या भएका कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजन प्लान्ट सर्भिसिङ गर्नुपर्ने मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो ।  अक्सिजन खोज्दै आएका बिरामीलाई सेवा दिन अस्पतालमा उपकरण समेत थप्नुपर्ने भएको हो । सर्भिसिङ अभावमा जुनसुकै बेला अक्सिजन सकिने भएपछि अस्पताल प्रशासन, व्यवस्थापन समिति र चिकित्कसले बिकल्प खोज्न थालेका हुन् ।

डेढ वर्षअघि जडान भएपनि सर्भिसिङको समय भएकोले अक्सिजन कम हुँदै गएको हो । तत्काल सर्भिसिङ नगरेमा जटिल समस्या भएका कोरोनाका बिरामी आउँदा बचाउन नसकिने अवस्था आउने डा। पोखरेलले बताउनुभयो । “प्लान्ट स्थापना भएपछि अक्सिजन नियमित र पर्याप्त उत्पादन हुन बेला बेला सर्भिसिङ गर्नुपर्छ ” अस्पताल व्यस्थापन समितिका सदस्य शालिकराम शर्माले भन्नुभयो, “यसका लागि ढीला भए समस्या आउन सक्छ । ”एक पटकमा सातदेखि आठ लाख रुपैयाँ खर्च गर्दा कम्तिमा सात महिनासम्म निरन्तर अक्सिजन उत्पादन हुने उहाँले जानकारी दिनुभयो । छिट्टै अक्सिजन सकिने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

अस्पतालमा छुट्टै कोष नभएपछि सहयोगको भरमा अत्यावश्यक उपकरण ल्याउनु परेको हो । अस्पतालले आइसियू, डायलायसिस र पीसीआर उपकरण पनि सहयोग जुटाएर जडान गरेको थियो । समितिको बैठकमा अक्सिजन चुनौती हुन सक्ने प्रमुख एजेण्डा बनेपछि सबै पालिका प्रमुख र सुरक्षा निकायका प्रमुखले तत्काल जुटाउन पहल गर्ने सुझाव दिएका छन् । अस्पतालको पूर्वाधार निर्माणाधीन भएपनि आवश्यक पर्दा १०० सम्मलाई अक्सिजन दिएर उपचार गर्न सक्ने योजना डा पोखरेलले सुनाएपछि प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिले खर्चको जोहो गर्ने आश्वासन समेत दिनुभएको छ ।

जटिल अवस्था आउन नदिन स्थानीय पालिकाबाट चन्दा उठाएरै भएपनि सर्भिसिङ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । “सर्भिसिङ गरेपछि सात महिना ढुक्क हुन सकिने देखियो ” कार्कीले भन्नुभयो, “बागलुङका दश पालिकाले एकएक लाख सहयोग गर्दा समस्या समाधान हुन्छ ।”अहिले धौलागिरि अस्पतालमा २५ श्यया आइशोलेसन छन् । अन्य बिरामीका लागि ५० श्यया छन् ।

जटिल समस्या आएमा ओपिडीको परीक्षण रोकेर सामान्य श्यया पनि प्रयोग गर्दा ७५ जनालाई नियमित अक्सिजन प्लान्टबाटै उपचार गर्न सकिन्छ । कोरोनाले श्वासप्रश्वासमा समस्या देखिएकालाई अन्य बिरामीभन्दा हाइ स्पिड अक्सिजन चाहिने चिकित्सकले जनाएका छन्  । सिलिण्डरमा भरेर सेवा दिंँदा १०० जनालाई पुग्ने सुपरिटेण्डेन्ट डा। पोखरेलले जानकारी दिनुभयो । अस्पतालको सी ब्लक बनिसकेपछि भने २०० श्यया क्षमता बनाएर सबैमा अक्सिजन बितरण गर्ने योजना उहाँले सुनाउनुभयो । 

बागलुङ नगरपालिकाले रात्माटामा रहेको आफ्नो पुरानो भवन सरसफाइ गरेर २५ श्यया क्षमताको आइशोलेसन बनाउन लागेको छ । धौलागिरि बहुमुखी क्याम्पससँग पनि छलफल भएकोले प्रयोगमा ल्याउन सकेमा १०० बढी श्यया आइशोलेसन सदरमुकाम मै तयार हुने बताइएको छ  । चिकित्सकले तत्काल सेवा दिन सक्ने स्थानमा मात्रै आइशोलेसन बनाउने योजनामा समितिले काम गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस