कोभिड–१९को रोकथाम तथा नियन्त्रणका निम्ति गम्भीर हुन नेपाली कांग्रेसको आग्रह

रासस

विहीबार, २३ बैशाख २०७८, १४ : ०६
कोभिड–१९को रोकथाम तथा नियन्त्रणका निम्ति गम्भीर हुन नेपाली कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९को रोकथाम तथा नियन्त्रणका निम्ति गम्भीर भएर लाग्न माग गरेको छ । सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी बढ्दो सङ्क्रमण नियन्त्रण गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन माग गरेका छन् ।

‘आइसोलेशन सेन्टर, क्वारेन्टिन र होल्डिङ सेन्टर’को निर्माणका साथै  सङ्क्रमितहरूको उपचारका लागि आवश्यक अस्पताल ‘बेड’, आइसीयू  बेड, भेन्टिलेटरलगायत स्वास्थ्य पूर्वाधार, अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न विपक्षी दलले आग्रह गरेको छ ।

कोरोना महामारीको मौका छोपेर बजारमा आवश्यक वस्तुको अभाव सिर्जना हुन नदिन तथा मूल्यवृद्धि रोक्न र कालोबजारी नियन्त्रणमा लाग्न सरकारलाई सुझाउँदै उक्त पार्टीले भारतसँग सिमाना जोडिएका नाकामा ‘हेल्थ डेस्क’ स्थापना, कोरोनाको ‘एन्टिजेन’ परीक्षण तथा ‘कन्टयाक्ट ट्रेसिङ’ मा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

“स्थानीय तह र प्रदेशसँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल बेड, आइसीयु बेड, आइसोलेशन केन्द्र, क्वारेन्टिन र  होडिङ सेन्टरको व्यवस्थापन, सञ्चालन र अनुगमन गर्नका साथै केन्द्र तथा प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई नन्कोभिड अस्पतालका रूपमा विकसित गरी आवश्यक बेड, आइसीयू बेड र भेन्टिलेटरको सङ्ख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना, कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधिको यथोचित प्रबन्ध गर्न नेपाल सरकारसमक्ष नेपाली कांग्रेस माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
 

प्रतिक्रिया दिनुहोस