लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई अविलम्ब राजीनामा दिई नयाँ निकास दिन आग्रह

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १४ : २५
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई अविलम्ब राजीनामा दिई नयाँ निकास दिन आग्रह

बुटवल । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष, वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईंले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रस्तुत अविश्वास प्रस्ताव र त्यसको निकासका सन्दर्भमा जुन प्रकारको अस्वस्थ ,गैरजिम्मेवार र अराजनीतिक चरित्र प्रस्तुत भयो, यसको जति निन्दा र भ्रत्सना गरे पनि कमै हुने बताएका छन् । 

उनले वक्तव्यमा आफ्नो हातमा रहेको परम्परागत सत्ता त्यागेर विश्वकल्याणको लागि समर्पित बुद्धभूमि लुम्बिनी प्रदेशमा यस प्रकारको घिनलाग्दो अराजनीतिक खेल हुनु दुःखद एवं निन्दनीय कार्य भएको बताएका छन् । विज्ञप्तीमा यस प्रकारको अराजनीतिक र फोहरी खेलमा कस्को के कति हात छ ? यसको खोजीनीति र पहिचान गरी जनताका बीच चाडो भन्दा चाडो छर्लङ्ग पार्नु आवश्यक  रहेको बताएका छन् । 

‘राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्दै मुलुकलाई सही गन्तव्यमा हिडाउन र आफ्नो  पार्टी पङ्तीलाई एकताबद्ध बनाई अगाडि बढाउनु पर्ने  गहन दायित्वलाई छोडेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जुन प्रकारको अराजनीतिक र सत्ता लिप्साको  खेलमा आफूलाई जसरी प्रस्तुत गर्नुभयो, यो उहाँका लागि किमार्थ शोभनीय भएन’ विज्ञप्तीमा उल्लेख गरिएको छ । 

त्यस्तैगरी विज्ञप्तीमा आफू अल्पमतमा परेको अवस्थामा अन्य जेसुकै कारण भएपनि उनले सत्ता शक्तिको दुरुपयोग गरी प्रहरीको घेरा बीच प्रदेश प्रमुखको कार्यालयमा नभई आफ्नै कार्यालयमा जवर्जस्त प्रदेश प्रमुखलाई बोलाई शपथ लिनुले मुख्यमन्त्री पोखरेलको प्रतिष्ठा र गरिमामाथि प्रश्न चिन्ह खडा भएको  उल्लेख  छ । 

लुम्बिनी प्रदेश सभामा  आइतबार भएको नाटकीय मञ्चनले लुम्बिनीका आम नागरिकलाई लज्जीत बनाएको चर्चा गर्दै यस प्रकारको  अलोकतान्त्रिक, अराजनीतिक  र सत्ता लिप्सामा केन्द्रित मुख्यमन्त्री शंकर पोखरेलको कदम उनको  राजनीतिक जीवन र नेकपा एमालेको लागि पनि अत्यन्तै घातक हुने बताएका छन् । 

हरेक समस्याको समाधान न्यायोचित ढंगले गर्न सकिन्छ तर आइतबार लुम्बिनी प्रदेशमा भएको मुख्यमन्त्री नियुक्तिको घटना अनुचित र न्यायसंगत नदेखिएको उल्लेख गर्दै प्रहरीको कडा निगरानी र घेराभित्र रही जवर्जस्त सपथ लिएका मुख्यमन्त्री शंकर पोखरेलले गौतमबुद्धबाट प्रेरणा लिई तत्कालै पदबाट राजीनामा दिई लुम्बिनी प्रदेशलाई नयाँ मार्ग प्रशस्त गर्न  डा. चापागाईंले आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस