श्रीलङ्कामा हवाई यात्रामा कडाई, बिमानमा ७५ यात्रु मात्र उड्न पाउने

रासस

सोमबार, २० बैशाख २०७८, १२ : ११
श्रीलङ्कामा हवाई यात्रामा कडाई, बिमानमा ७५ यात्रु मात्र उड्न पाउने

कोलम्बो । श्रीलंकाले कोरोनाभाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ । 

श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने छैन । प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सरकारको निर्णय बारे जानकारी गराइसकेको छ । 

दुई सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्याँकन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ । 

यसैबीच, श्रीलंकामा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतबार हालसम्मकै उच्च संख्यामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८ सय जनामा कोरोना पुष्टि भएको छ । 

यो सहित श्रीलंकामा कोरोनाभाइरसका संक्रमितको संख्या एक लाख १२ हजार पुगेको छ ।(एएनआई) 

प्रतिक्रिया दिनुहोस