कोभिडको दोस्रो लहरबाट हुने क्षतिलाई रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको छ : अर्थमन्त्री पौडेल

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १५ : ५४
कोभिडको दोस्रो लहरबाट हुने क्षतिलाई रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका छन् । कोभिडको दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरेका हुन् ।

कोभिड–१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा छन् । विषम परिस्थितिमा अघिल्लो पटक कोभिड–१९ का बेलाका सिकाइहरुलाई समेत आधार मान्दै अघि बढेका छौँ,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८/७९ बजेट सम्बन्धी दिएको सुझावपछि अर्थमन्त्री पौडेलले भने, ‘सबैको साथ र सहयोगले कोभिड–१९ विरुद्धको लडाईं जित्नुको विकल्प हामीसँग छैन । 

उनले वातावरण सहज पार्न र पूर्वाधारहरु बढाउन प्रदेश सरकार र स्थानीय तहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताए ।

जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यस अघि छिमेकी मुलुक भारत र चीनबाट कोभिड १९ विरुद्धको खोप ल्याइ नागरिकहरुलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको जानकारी दिए ।

सेजनले व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सार्वजनिक संस्थानहरू, उद्योग, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार, बैंक तथा सहकारी,  लगानी, श्रम तथा रोजगार, प्रदेश, स्थानीय तह, बिमा, आर्थिक सुशासन, आर्थिक स्रोतको व्यवस्थापन  गर्न सुझाव दिएको छ ।

सेजनका अध्यक्ष भीम गौतमले पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न, खोजमुलक समाचारका लागि प्रोत्साहन स्वरुप फेलोसीपको व्यवस्था गर्न, पत्रकारको पेशागत सुरक्षा तथा क्षमता वृद्धिका ठोस कार्यक्रम ल्याउन, अर्थतन्त्रसँग सम्बन्धित बीटको विकासका लागि प्रोत्साहन गर्ने लागयतका  कार्यक्रम ल्याउन सुझाव दिएका थिए । 

प्रतिक्रिया दिनुहोस