ताप्लेजुङमा एकजना कोरोना सङ्क्रमितको मृत्यु

रासस

शनिबार, १८ बैशाख २०७८, १० : २५
ताप्लेजुङमा एकजना कोरोना सङ्क्रमितको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित भक्तिमाया तुम्बाहाम्फे लिम्बूको गए राति मृत्यु भएको हो ।

बिर्तासिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । मुटुको समस्याका कारण विगत केही दिनअघिदेखि बिर्तासिटी अस्पतालमा उपचाररत लिम्बूलाई बिहीबार सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएपछि परिवारले होमक्वारेन्टिनमा राख्ने भन्दै शुक्रबार घर ल्याएका थिए ।

मृतकको आज परिवारका सदस्यले दाहसंस्कार गर्ने भएका छन् । दाहसंस्कार गर्नका लागि मृतकका आफन्त तथा परिवारका चार जनालाई पिपिइ उपलब्ध गराइने प्रजिअ पाण्डेले बताए । सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले नै गर्नुपर्नेमा परिवारलाई नै जिम्मा लगाउनु लापरवाही भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । यसले थप सङ्क्रमण फैलिने जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस