भारतबाट खोप आउन अझै दुई महिना लाग्‍न सक्ने

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १५ : ०३
भारतबाट खोप आउन अझै दुई महिना लाग्‍न सक्ने

काठमाडौँ । आगामी जुलाई महिना अगाडी भारतले नेपालसहित छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंका लगायतलाई खोप उपलब्ध गराउने सम्भावना कम रहेको भारतीय अधिकारीहरुले बताएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या केही साता यता ह्वात्तै बढेको छ भने मे १ देखि भारतले १८ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान शुरु गर्ने तयारी गदैछ ।

सेरम इन्स्टिच्यूटले उत्पादन गरेको खोप आन्तरिक रुपमा प्रयोग गर्ने नीति भारतले लिएपछि अहिले निर्यात रोकिएको छ । भारतको यो नीतिले पहिला नै भुक्तानी गरिसकेका नेपाल लगायतका अन्य छिमेकी मुलुकहरु प्रभावित भएका छन्। तर, भारतले तत्कालै निर्यात सुचारू नगर्ने जानकारी दिएको छ ।

भारतीय अंग्रेजी पत्रिका दि हिन्दुले भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीलाई उद्धृत गदै छिमेका खोप निर्यात सुचारु गर्न अझै २ महिना लाग्ने उल्लेख गरेको छ । ती अधिकारीले भारतले अब खोपको उत्पादन बढाउने आन्तरिक मागसँगै छिमेकमा पनि निर्यात गर्ने बताएका छन् ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङगलाले पनि तत्कालै खोप अन्य मुलुकमा निर्यात नगर्ने संकेत गरेका छन् । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गदै भारतिय विदेश श्रीङ्गलाले भ्याक्सीन सप्लाई गर्ने सम्बन्धमा केही पनि बताएनन्।

उनले अहिले भारतको आफनै आवश्यकता धेरै भएको र आफ्ना साझेदार मुलुकहरुले यो सन्दर्भलाई बुझ्नु पर्ने बताए । उनले खोपको उत्पादनलाई निकै बढाउनुपर्ने समेत बताए ।

भारत सरकारको यो नीतिले खासै छिमेकी मुलुकहरुसँगको सम्बन्धमा असर त गर्ने होइन भनी सोधिएको प्रश्नमा उनले भने, ‘हाम्रो आफ्नो माग एकदमै धेरै छ ।त्यसैले हामीले अहिले जति उत्पादन गर्छौ, त्यो हाम्रो आन्तरिक खोप कार्यक्रमको लागि आवश्यक छ ।’अहिले विशेषत नेपाल र बंगलादेशले पहिला नै भुक्तानी भइसकेको खोप उपलब्ध गराउन भारत सरकारसँग ताकेता गरिरहेका छन्।