कैलाली । कैलालीको जानकी गाउँपालिका–६ जगतपुरस्थित कैलाशेश्वर सामुदायिक वनमा आइतबार दिउँसोदेखि भीषण आगलागी भएको छ । समूहका अध्यक्ष खडक शाहले लायकपुर मुक्त कमैया शिविर नजिकै सामुदायिक वन क्षेत्रमा आगलागी भएको जानकारी दिए ।
आगलागीबाट करोडौँको वन पैदावार नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि टीकापुर र लम्की चुहा नगरपालिकाका दुई दमकल, दुई स्थानीय तह र रानी जमरा कुलरिया सिँचाइ आयोजनाका ३ स्काभेटर, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दा र उपभोक्ता नियन्त्रणमा खटेका छन् । ‘‘आगो लायकपुर बस्ती नजिकै रहेको जंगलबाट शुरुआत भयो । लायकपुर बस्तीका सयौँ घर जोखिममा छन्’’, उनले भने, ‘‘दिउँसो भएकाले तुरुन्तै खबर पायौँ । हामीले स्थानीय तह र प्रहरीको सहयोग लियौँ, दिउँसोदेखि आइतबार राति १ बजेसम्म आगो नियन्त्रणमा खट्दा बस्तीलाई जोखिमबाट बचाइएको छ ।’’
सबैको प्रयासबाट आगलागी बस्तीमा आउनबाट जोगाइएको भए पनि वनमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । सुकेका रुखमा लागेको आगो नियन्त्रणमा अझै नियन्त्रणमा आएको छैन । आगलागीबाट वनमा १० हेक्टरमा रहेका वन पैदावार जलेर नष्ट भएको उनको भनाइ छ । सो सामुदायिक वन ४६० हेक्टर जमीनमा फैलिएको छ ।
‘‘आगलागीका कारण करोडौँ क्षति भएको छ । पुराना सालका रुख, नयाँ पलाउँदै गएका पालुवा समेत नष्ट भएका छन्’’, उनले भने, ‘‘अत्यधिक गर्मी बढेको र हावाहुरी चल्ने भएकाले आगो फैलने जोखिम छ । आगलागी बस्तीमा आएमा नियन्त्रण गर्न सकिदैन ।’’
पछिल्लो समय देशैभरि रहेका सामुदायिक वनमा आगलागी तथा डढेलोका कारण करोडौँको वन पैदावार नष्ट भएको छ । जिल्लाका अधिकांश सामुदायिक वनले आगलागीबाट बच्न अग्नीरेखा निर्माण समेत गरेका छन् । ‘‘ नागरिकको लापरवाही, उपभोक्ताको हेलचेक्र्याइले वनमा आगलागी जस्ता घटना भइरहन्छन्’’। स्थानीय उपभोक्ता गीता धामीले भने, ‘‘बस्ती नजिक रहेका वन अझ आगलागीको जोखिममा पर्ने गरेका छन् । आगलागीका घटना हुन नदिन उपभोक्ता बढी जिम्मेवार बन्न आवश्यक छ ।’’
जिल्लामा ५७६ सामुदायिक वन छन् । यी वनमा अधिकांश वन बस्तीसँग जोडिएका छन् । बस्तीसँग जोडिएका वन आगलागीको जोखिममा पर्ने गर्दछन् । ‘‘वर्षेनी कैलालीका दर्जनौँ वनमा आगलागी हुँदा करौडौँको क्षति हुन्छ । आगलागी जस्ता घटना नियन्त्रणका विषयमा उपभोक्ता तथा वन पदाधिकारीबीच छलफल भए पनि यस्ता घटना भइरहने गर्छन्’’, संरक्षणकर्मी जयप्रसाद ढुंगानाले भने, ‘‘आगलागी भइहाले तत्काल आगो नियन्त्रणका लागि आवश्यक दमकल र जनशक्तिको अभाव छ ।’’ आगलागीबाट वन पैदावार मात्र होइन वन्यजन्तु समेत जोखिममा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति
टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
नागार्जुनमा आगलागी, क्षतिको विवरण आउँन बाँकी
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति
हुम्लामा आगलागी, आठ घर जलेर खरानी
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग