काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको महत्व बुझेर मनोबल उच्च बनाउन उद्यत रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आवको बजेटका सम्बन्धमा बुझाएको सुझावपत्र ग्रहण गर्दै उहाँले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रको कठिनाइ बुझ्न चाहन्छ र आगामी बजेटमा निजी क्षेत्रले उठाउँदै आएका समस्या एवं गुनासालाई सरकारले सम्बोधन गर्छ ।”
सरकार निजी क्षेत्रसँग बलियो सहकार्य गरी मुलुकको आर्थिक विकासमा अगाडि बढ्छ र त्यसको आभास निजी क्षेत्रले आगामी बजेटमार्फत गर्न पाउने उहाँको भनाइ छ । महासङ्घले दिएका सुझावलाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै उहाँले सरकार निजी क्षेत्रलाई उत्साहित बनाउने गरी सहयोग प्रदान गर्न तत्पर रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तपार्इंहरु ढुक्क भएर काम गर्नुहोस् सरकारले सहयोग गर्छ, अर्थमन्त्रीको रुपमा तपाईंहरूका समस्यालाई सम्बोधन गर्न म तयार छु ।” अर्थसचिव शिशिरकुमार ढुङ्गानाले महासङ्घले विकास र समृद्धिका विषयमा बजेट सुझावमार्फत उठाएका विषय अत्यन्त स्वागतयोग्य रहेको बताउनुभयो ।
महासङ्घले आव २०७८/७९ को बजेट तथा आर्थिक ऐनमा सरकारको हालको अहिलेको नीतिलाई अझ बढी खुकुलो र उदार बनाउनुपर्ने सुझाव दिएको छ । महासङ्घले करका दर परिवर्तन गर्न तथा कर प्रशासन अझ बढी चुस्त बनाउन आग्रह गरेको छ ।
यस्तै, व्यक्तिगत रुपमा रु सात लाखसम्मको आम्दानीमा कर छुट दिनुपर्ने, जरिवानाका दर कसूरका आधारमा समानुपातिक बनाई घटाइनुपर्ने, जरिवानाको ब्याजलाई १५ प्रतिशतबाट घटाएर १० प्रतिशत झार्नुपर्ने बताएको छ ।
महासङ्घले भन्सारका दर स्वदेशी उद्योगलाई संरक्षण र विकास गर्नेतर्फ निर्देशित हुनुपर्ने, उद्योगले मेशिन र त्यसका स्पेयर पार्टस आयात गर्दा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गर्नुपर्ने तथा केबुलकारको मेशिनरी र पार्टस आयात गर्दा पनि उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ बैशाख २०७८, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने
अब निर्माण व्यवसायीको बिल रोकिँदैन : अर्थमन्त्री पौडेल
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
अस्पताल निर्माणको जनस्तरबाट निगरानी होस् : अर्थमन्त्री पौडेल
आठौँ पटक मन्त्री र पाँचौँ पटक अर्थमन्त्री बने विष्णु पौडेल
विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित