छात्राको मृत्युपछि तिलोत्तमाका शैक्षिक संस्था बन्द

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १५ : ०५
छात्राको मृत्युपछि तिलोत्तमाका शैक्षिक संस्था बन्द

रुपन्देही ।कक्षा १० मा अध्ययनरत एक निजी विद्यालयकी छात्राको मृत्यु भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पूर्ण शैक्षिक संस्थाहरु आजदेखि बन्द भएका छन् ।

नगरपालिका क्षेत्रमा केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेको र संक्रमणले थप जटिलता ल्याउनसक्ने निष्कर्ष निकाल्दै आइतबार बसेको नगरपालिकास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठकले शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख एवं सिसिएमसी संयोजक वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, सामुदायिक तथा संस्थागत विद्यालय, अभिभावक, व्यवसायिक संघ–संस्था, सञ्चारकर्मीका प्रतिनिधिहरुको सहभागिता थियो ।

बैठकले आजकैं मितिदेखि लागू हुनेगरी नगरभित्रका सम्पूर्ण विद्यालय, कलेज, होस्टल, ट्युशन सेन्टर, तालिम सेन्टर अर्को निर्णय नहुँदासम्मको लागि पूर्णतः बन्द गर्नुको साथैं सबै प्रकारका परीक्षाहरु समेत तत्काल स्थगित गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।

बैठकले तिलोत्तमा–१, नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्ययन गर्ने छात्रा प्रतिमा सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सो घटनाको विषयमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस