एमालेमा कारवाही शुरु

शनिबार, ११ बैशाख २०७८, ०७ : ५७
एमालेमा कारवाही शुरु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग असहमति राखेर समानान्तर गतिविधि गरिरहेका अर्को पक्षका नेताहरूलाई ‘कडा कारबाही’ गर्ने सिलसिलाको सुरुआत गरेका छन् । यसअघि चैत ८ मा एउटै नेतालाई तीन पटकसम्म स्पष्टीकरण सोधेका ओलीले विपक्षी धारका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही थालेका हुन् ।

गत वैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फेल गराउन फ्लोर क्रस गरेका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले शुक्रबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । यसलाई ओली नेतृत्वको एमालेले कडा कारबाहीको रूपमा व्याख्या गरेको छ ।

१० औं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बसेको बैठकपछि प्र्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधिएकामध्ये संघीय संसद्का अधिकांश सांसदको स्पष्टीकरण आइसकेको र उनीहरूको सन्दर्भमा के गर्ने भनेर थप अध्ययन गरी निर्णय गर्न आयोजक कमिटीले स्थायी कमिटीलाई जिम्मा दिएको बताए । ‘एक खालको संकेत यहाँहरूले पाइसक्नुभएको छ, पार्टीको निर्देशन नमान्ने कर्णाली प्रदेशका साथीहरूलाई हामीले कडा कारबाही गरेका छौं । त्यो खालको स्थिति नआओस् भन्ने हाम्रो प्रयास छ, बैठकमा साथीहरूको संख्या अझ थपिँदै छ,’ उनले भने, ‘साथीहरूले आन्दोलन र आफैंलाई नोक्सान गर्ने निर्णय गर्नुहुन्न भन्ने विश्वास छ ।’

एमालेले शुक्रबारै माधव नेपाल पक्षका नेताहरूलाई नराखी स्थायी कमिटी गठन गरेको छ । नवौं महाधिवशेनबाट निर्वाचित कमिटी भंग गरेर अध्यक्ष, महासचिवबाहेक अरू सबैलाई दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्य बनाएको एमालेले स्थायी कमिटी गठन गर्दा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर नेताहरूलाई नसमेटेको हो । नवौं महाधिवेशनबाट निर्वाचित एमालेका २२ स्थायी कमिटी सदस्यमध्ये ११ जना खनाल–नेपाल पक्षमा र १० जना ओलीतिर छन् । उपाध्यक्ष वामदेव गौतम कतै खुलेका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।