लैनचौरमा खेल मैदान बनाउँदै एनसेल

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, २० : १६
लैनचौरमा खेल मैदान बनाउँदै एनसेल

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।

यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थानलगायतका विषेशता रहने एनसेलले जनाएको छ । यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ ।

एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरहेकोे छ । 

ग्राउन्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ । परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरूका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था गरिने एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस