प्रदेश २ को नामाकरणका लागि ६ वटा प्रस्ताव सचिवालयमा दर्ता

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १७ : ३८
प्रदेश २ को नामाकरणका लागि ६ वटा प्रस्ताव सचिवालयमा दर्ता

जनकपुरधाम । प्रदेश २ को नामाकरणका लागि विभिन्न ६ वटा प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् ।प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्नका लागि सचिवालयले बिहीबार ३ बजेसम्मको समय तोकेको थियो । सो समय अवधिमा नामाकरण सम्बन्धी ६ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्न प्रस्ताव गरेको छ । नेकपा माओवादी केन्द्रले पनि ‘मधेस प्रदेश’ नाम राख्नेगरी छुट्टै प्रस्ताव दर्ता गरेको छ । नेकपा एमालेबाट पनि नामसम्बन्धी २ प्रस्ताव दर्ता भएका छन् । एमाले सांसदहरूले ‘जनक प्रदेश’ र ‘जानकी प्रदेश’ नाम राख्ने प्रस्ताव दर्ता गराएको छ ।

नेपाली कांग्रेसबाट पनि दुई वटा नाम प्रस्ताव भएको छ । कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गरेका छन् । कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले ‘मध्ये मधेस’ नाम राखी प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशसभाको राजधानीका लागि भने ७ वटा प्रस्ताव दर्ता भएका छन् । जसपा, एमाले, कांग्रेस र माओवादीका सांसदहरुले छुट्टाछुट्टै रुपमा जनकपुरधामलाई स्थायी राजधानी बनाउन माग गर्दै प्रस्ताव दर्ता गराएका हुन् ।

जनकपुरलाई राजधानी बनाउन ५ वटा प्रस्ताव दर्ता भएका छन् भने वीरगञ्जलाई स्थायी राजधानी प्रस्ताव गर्दै दुई वटा प्रस्ताव दार्ता भएका छन् । कांग्रेस सांसद राजेश्वरप्रसाद साह र जसपा सांसद सिंगासन सा कलवारले वीरगंजलाई स्थायी राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गरेका छन् ।

नेपालको संविधानको धारा २९५ को उपधारा ९२० मा प्रदेशको नामाकरण र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतबाट निर्धारण हुने उल्लेख छ । प्रदेश २ को प्रदेशसभामा यसअघि पनि नाम र राजधानीका लागि मतदान भइसकेको छ । कुनैपनि प्रस्तावले दुई तिहाई बहुमत नजुटाएका कारण हालसम्म प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लाग्न सकेको थिएन ।

१ सय ७ सदस्यीय प्रदेश २ को प्रदेशसभामा जसपाका ५६, एमालेका २१ , कांग्रेसका १९ र माओवादीका ७ जना सांसद रहेका छन् । माओवादीका अन्य ४ सांसद निलम्बित अवस्थामा छन् ।प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रस्तावहरू टेबल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस