किन कोरोना संक्रमणलाई खेलाँची ठान्दैछन् हाम्रा शासकहरु ?

रामजानकीको मुर्ति पदस्थापनमा सयौंको भिड

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, ०८ : ०२
किन कोरोना संक्रमणलाई खेलाँची ठान्दैछन्  हाम्रा शासकहरु ?

चितवन । कोरोना संक्रमण महामारीको दोस्रो लहर शुरु भइसकेको छ । कोरोना संक्रमितको संख्या दिन दुई गुना रात चौगुनाको दरले बढिरहेको छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन समेत दिएको छ । मास्कबिना हिँड्नेलाई कारबाही पनि गरिरहेको छ । 

तर त्यही सरकार प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरेको भोलिपल्ट बालुवाटारमा सयौँको संख्यामा उपस्थित भएर पूजाआजा गरिन्छ । प्रसङ्ग माडीको अयोध्याधाममा राख्ने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिको हो । चितवन ल्याउनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले वैदिक अनुष्ठानसहित पूजा गरेर राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवनको देवघाट पठाए । चितवनको यात्रा शुरु हुनुअघि वालुवाटारमा जम्मा भएको ‘असंवेदनशील भीड’ले एक दिनअघि मन्त्रिपरिषदले गरेको निर्णयलाई खिल्ली उडायो, अवज्ञा गर्यो ।

कोरोनाले त वालुवाटारको कार्यक्रम हो भनेर छोड्दैन होला । चितवनको अयोध्याधाममा राख्ने मूर्तिको लागि भनेर पनि छोड्दैन होला । सरकारको निर्णयको भोलिपल्ट स्यवं वालुवाटारबाट खुल्ला रुपमा अवज्ञा भएको थियो । किनकि, यात्रामा सहभागी हुन त्यहाँ जम्मा भएका सहभागीले सामाजिक दूरीको नियम पालना गरिरहेका थिएनन् । बृद्धबृद्धा र गुरुकुलमा अध्ययनरत विद्यार्थी भजनकीर्तन गर्दै त्यहाँ सहभागी भएका थिए । महामारीमा सरकार संवेदनशील नबन्दा जनता निराशा भएका थिए । 

सरकार महामारी नियन्त्रणमा कतिसम्म गैरजिम्मेवार छ भन्ने कुरा प्रधानमन्त्री ओलीको बालुवाटारको पूजापाठबाट नै थाहा हुन्छ । हाम्रा शासकहरुलाई कोरोना भाइरसले विश्व नै तहसनहस पारिरहेको बेला पर्यटनमन्त्री भानुभक्त ढकाल मूर्ति ¥यालीको अगुवाई गर्दै हिंड्ने कामले महामारी भुसको आगोझैं सल्किने खतरा त हुँदैन, अलिकति पनि हेक्का भएन् । जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा सयौँलाई कोरोना पोजेटिभ देखिन सक्ने खतरा छ भन्ने थोरै पनि सोचिएन् । 

औषधि उत्पादन र स्वास्थ्य उपचारको भौतिक संरचनामा हामीभन्दा कैयौं अगाडि रहेको देशमा अक्सिजन र बेडको हाहाकार भएर दैनिक लाखौं संक्रमित र हजारौंले मृत्युवरण गरिरहँदा राज्यको यो असंवेदनशील कदमको परिणाम घातक हुनसक्छ भन्ने हेक्का राखेको भए थोरै सहभागीबाट पनि कार्यक्रम सफल बनाउन सकिन्थ्यो ।  भौतिक दूरीको नियम र मास्कलाई महामारी नियन्त्रणको ठूलो हतियार मानिन्छ, तर माडीमा भएको राम जानकीको मूर्ति पदस्थापनमा जात्रा, पर्व, नारा, जुलुस र आमसभाजस्तो ठाउँमा मास्क लगाए पनि भौतिक दूरी कायम हुन सम्भव छैन् । 

महामारीलाई गिज्याउने भीड नै जम्मा भयो माडीमा ।  मन्त्री नै अतिथि बने । मूर्ति यात्रा तनहुँको देवघाट गाउँपालिकाबाट पदयात्रामा बदलिएको थियो । गाउँपालिकाको कार्यालयबाट कोभिड १९ पहिलो चरणको महामारीमा कुनैबेला स्वास्थ्य मन्त्रालयको समेत नेतृत्व गरेका हालका पर्यटन मन्त्री भानुभक्त ढकालले नै जनस्वास्थ्यको मापदण्ड विपरीत उक्त ¥यालीको नेतृत्व गरेका थिए ।

ठूलो ¥यालीसहित मूर्ति लिएर रथयात्रा माडी पुग्यो । माडीमा ठूलो भीडका बाबजुद मूर्ति पदस्थापन भयो । यो भीडले कोभिड १९ लाई खेलाँची ठान्ने काममात्र भयो । जसले कोरोना नियन्त्रणमा मुख्य भुमिका खेल्नुपर्ने हो, उसैबाट उल्लघंन हुनुलाई धरैजसोले यसलाई सरकारको गैरजिम्मेवारपन मानेका छन् ।
 

प्रतिक्रिया दिनुहोस