सभामुख सापकोटाविरुद्ध परेको द्वन्द्वकालीन ज्यान मुद्दाको रिटमा आज सुनुवाइ हुँदै

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १० : ४५
सभामुख सापकोटाविरुद्ध परेको  द्वन्द्वकालीन  ज्यान मुद्दाको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको द्वन्द्वकालीन मुद्दाको पेशीमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको संवैधनिक इजलासमा सुनुवाइ हुने गरी आजको पेशीमा चढेको छ । गत माघ २३ मा संवैधानिक इजलासमा पेसी चढे पनि यो मुद्दामा हेर्न नभ्याइनेमा परेको थियो । 

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए । उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीन वटा मुद्दा छन्। लामाकी श्रीमति पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।