आधुनिक तथा प्राविधिक शिक्षाले नै समृद्धि राष्ट्र बनाउन सकिन्छ : मुख्मन्त्री राउत

रासस

सोमबार, ०६ बैशाख २०७८, १८ : ५६
आधुनिक तथा प्राविधिक शिक्षाले नै समृद्धि राष्ट्र बनाउन सकिन्छ : मुख्मन्त्री राउत

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विज्ञान प्रविधिको युगमा पुरातन शिक्षाले चाहेको जस्तो विकास हासिल गर्न नसकिने धारणा व्यक्त गरका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश नं २ जनकपुरधामले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आजको युग विज्ञान तथा प्रविधिको युग भएकाले पुरानो शिक्षा पद्धतिलाई विस्थापित गर्दै अबका युवालाई प्राविधिक शिक्षा दिन सकिए चाहेको जस्तो समृद्ध चाँडै हासिल गर्न सकिने बताए ।

आधुनिक शिक्षा नै आजको अवश्यकता भएकाले प्रदेशका विभिन्न जिल्लामा प्रदेश सरकारले प्राविधिक शिक्षाका लागि विषयगत विश्वविद्यालय खोल्ने तयारीमा लागेको मुख्यमन्त्री राउतले जानकारी दिए । उनले  जनकपुरमा स्वास्थ्य विज्ञान प्रतिस्थान, सप्तरीमा कृषि विश्वविद्यालय र वीरगञ्जमा विज्ञान तथा प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारीमा प्रदेश सरकार रहेको बताए ।

देशकै आर्थिक राजधानीका रुपमा रहेको वीरगञ्जलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने उद्देश्यका साथ प्रदेश नं २ सरकारले आज वीरगञ्जमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । वीरगञ्जमा विज्ञान तथा प्र्रविधि विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारले तयार पारेको विधेयकको विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरी राय सुझाव सङ्कलन गरेको छ । 

सामाजिक विकास मन्त्रालय प्रदेश नं २ जनकपुरधामले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी रहेका वक्ताहरुले वीरगञ्जमा स्थापना गर्न लागिएको विज्ञान तथा प्राविधिक विश्वविद्यालयलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाउनबाट जोगाउन स्वायत्त संस्थाका रुपमा विकास गर्न सुझाव दिएका छन् । वीरगञ्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसलाई केन्द्रका रुपमा राखी विश्वविद्यालय बनाउन सुझाव दिँदै वक्ताहरुले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक आर्थिक स्रोतको अभाव हुन नदिन गहन अध्ययन गरी नीति नियम बनाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस