बालुवाटार बैठकमा ओलीले माधव नेपाललाई भने : इतिहासमै अराजक हर्कत गरेका छौँ, क्षमा हुँदैन

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १५ : ५३
बालुवाटार बैठकमा ओलीले माधव नेपाललाई भने : इतिहासमै अराजक हर्कत गरेका छौँ, क्षमा हुँदैन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको फ्लोर क्रसको विषय उक्काउँदै माधव नेपालले इतिहासमै अराजक हर्कत गरेको बताएका छन् । 

केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा भएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले गरेको यो अपराधमा क्षमा नहुने बताए । अध्यक्ष ओलीले माधव नेपाल लगायतका नेताहरूलाई थप कारवाही हुने चेतावनी दिएका छन् । ओलीले भने, ‘यस्ता अराजक,अस्थिर, अत्यन्त घातक देशद्रोही तथा कम्युनिष्ट आन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिको विरुद्ध पार्टीले कडा भन्दा कडा कारवाही गर्नेछ ।’

माधव नेपालले कम्युनिष्ट आन्दोलनकाविरुद्ध आफ्नै पार्टीको सरकारविरुद्ध अपराधिक कर्म गरेको ओलीको ठहर छ । ‘माधव नेपालले समानान्तर कमिटी बनाउने र कर्णालीमा फ्लोर क्रस गराउनेसम्मको अपराध गरेकाले इतिहासको कलंकको टीका उनले (माधव नेपाल) लगाए’ प्रधानमन्त्री ओलीले भने । 

सतीप्रथा अन्त्य भएपनि आज माधव नेपालहरु अर्काको पतिका लागि सति गइरहेको टिप्पणी ओलीले गरेका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरूलाई फाँसी चढाउने ऐतिहासिक अपराध माधव नेपालले गरेको आरोप लगाए ।

ओलीले भने, ‘एक्लै त सक्दैनौ तिमीहरू । हामी जिते दुई तिहाई ल्याउँछौं हारे बहुमत ल्याउँछौं । अबको चुनावमा कहाँबाट लड्ने हो ? सांसद कसरी हुने हो। चुनाव पछाडि गठबन्धन बनाउन पनि कोही आउने छैनन् । त्यही भएर चुनाव तपाईंहरूका लागि प्रतिगमन नै हो ।’

प्रतिक्रिया दिनुहोस