काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा–मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक विस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा–मुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण शुरु भएको पाँच वर्षमा सकाउने लक्ष्य लिइएको छ ।
सडकको लम्बाइ ९२ किमी रहेको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सडक विस्तारको काम अघि बढाउन लागिएको हो । उक्त खण्डमा विस्तारको काम तीन खण्ड गरेर अघि बढाइने नागढुङ्गा–मुग्लिन सडक योजनाले जनाएको छ । तीन खण्डमा नारायणगढ–नौबिसे, नौबिसे–मलेखु र मलेखु–मुग्लिन गरेर विस्तार गरिने छ । तीन खण्डमध्ये नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु खण्डको प्रारम्भिक अध्ययन सकिएको योजना प्रमुख अमृतमणि रिमालले बताए ।
उनका अनुसार सो खण्डको मूल्याङ्कन सकिएर विश्व बैंकमा स्वीकृतिका लागि पठाइएको छ । तीन खण्डमा आगामी आवमा ठेक्का प्रक्रियामा जाने उनको भनाइ छ । उनले भने , “आगामी आवमा ठेक्कामा गएर दशैँसँगै निर्माण शुरु हुनेछ ।”विस्तारका लागि ठेक्का प्रक्रियामा जानु पहिले सडकको अधिकार क्षेत्र खाली गरिएको प्रमुख रिमालले बताए । सो खण्डमा अहिले रुख र खम्बा सार्न प्रक्रिया अघि बढाइएको छ । त्यस्तै पुल निर्माण गर्ने स्थानमा जग्गाको मुआब्जाका लागिसमेत प्रक्रिया थालिएको उनले बताए ।
सो खण्डमा २६ पुल निर्माण हुनेछ । सडक कम्तीमा ११ मिटर चौडाइ हुने बताइएको छ । मुग्लिन–नारायणगढ खण्डमा जस्तै यो खण्डमा पनि अहिले भएका पुल त्यहीँ छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण गर्न लागिएको छ । सडकको अधिकार क्षेत्रमा व्यक्तिगत सम्पत्ति नभएकाले निर्माणस्थल खाली गर्न समस्या नहुने उनले बताए । उनले भने , “सडकको केन्द्रबाट १५/१५ मिटर लिँदा ठूलो समस्या हुने छैन ।”
सडक निर्माणका लागि वातावरणीय अध्ययन गर्न प्रक्रिया अघि बढाइएको प्रमुख रिमालले बताए । सम्बन्धित डिभिजन कार्यालयलाई पत्राचार गरेर प्रक्रिया थालिएको छ । उनले भने, “ती कार्यालयबाट स्वीकृति भने आइसकेको छैन ।”
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ बैशाख २०७८, १३ : २६
लेखकबाट थप