अझै रोकिएन बालबालिकालाई पत्रु खाजा वितरण

रासस

सोमबार, ०६ बैशाख २०७८, १३ : २२
अझै रोकिएन बालबालिकालाई पत्रु खाजा वितरण

भजनी । स्वास्थ्यका दृष्टिकोणले बालबालिकालाई पत्रु खाजा दिन प्रतिबन्ध लगाइएतापनि यस्को न्यूनीकरण हुन सकेको छैन । दिवा खाजाका लागि उपलब्ध भएको रकमले बालबालिकालाई पकाएर खाजा खुवाउनुपर्ने व्यवस्थापन गरिएको छ । विद्यालयले भने बालबालिकालाई अझै पत्रु खाजा नै वितरण गर्दै आएका छन् ।
सरकारले बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाका लागि सामुदायिक विद्यालयलाई वार्षिक आर्थिक सहयोग गर्दै आएको छ । भजनी नगरपालिकामा ३९ सामुदायिक विद्यालय छन् । सबै विद्यालयमा बालबालिकाको दिवा खाजाका लागि पैसा आउने गरेको भए पनि केही विद्यालयले पकाउने साधनस्रोतको अभाव देखाउँदै पत्रु खाजा नै वितरण गर्ने गरेको नगरपालिकाका शिक्षाशाखा प्रमुख सूर्यबहादुर सिंहले जानकारी दिए।

“कोरोनाका कारण सबै विद्यालयमा व्यवस्थापन र समन्वयको अभावले पनि दिवा खाजा कार्यक्रमलाई प्रभाकारी बनाउन सकिएको छैन”, उनले भने, “सरकारले पनि खाजाका लागि पैसा पठाउने गरेको छ । पकाउन चाहिने अन्य साधनस्रोतको व्यवस्थापन हुन नसक्दा पनि सबै विद्यालयले पकाएको खाजा खुवाउन सकेका छैनन ।” प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले पैसा आउने गरेको छ ।  शिक्षा शाखा प्रमुख सिंहले निर्देशिका अनुसार दिवा खाजाको व्यवस्थापन गर्ने भनेर ‘मेन्यु’ नै तयार पारेको जनाउँदै सबै विद्यालयमा यस वर्ष पत्रु खाजाको व्यवस्थापन नभएको पाइएको बताए । 

जानकी गाउँपालिकाका केही विद्यालयले खाजाका आगि आएको रकम अभिभावकलाई वितरण गर्ने गरेको पाइएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपडीले केही विद्यालयले आफैँ पकाएर बालबालिकालाई दिवा खाजा दिने गरेको जनाउँदै केही विद्यालयले बालबालिकाका अभिभावकलाई विद्यालयमा बालबालिकाको हाजिरीका आधारमा रकम उपलब्ध गराउने र घरबाट खाजाको व्यवस्थापन भइरहेको जानकारी दिए । “विद्यालयले बालबालिकाको अभिभावकलाई रकम उपलब्ध गराउछ र बालबालिकाले घरबाटै खाजा बोकेर ल्याउने गरेका छन्”, उनले भने, “केही विद्यालयले भने आफैँ बालबालिकाको दिवा खाजाको व्यवस्थापन गर्दै आउनुभएको छ । सजिलो र खानामा पत्रु खाजा मीठो हुने भएकाले अभिभावकले पनि बढी पत्रु खाजाकै प्रयोग गर्दै आएको पाइएको छ ।” 

अभिभावकले पनि बालबालिकालाई पकाएको खानेकुराभन्दा त्यही पत्रु खाजा किनेर दिने गरेका छन् । उहाँले अभिभावक पनि आफ्नो बालबालिकाप्रति गम्भीर नभएको जनाउँदै सजिलोको हिसाबले बालबालिकालाई पत्रु खाजा नै दिएर पठाउने गरेको भए पनि यसको न्यूनीकरणका अनुगमन भने गर्न नसकिएको बताए ।

टीकापुर नगरपालिकामा भने बालबालिकालाई पत्रु खाजा नदिइएको शिक्षा शाखा अधिकृत नरेश अवस्थीले जानकारी दिएका छन् । उनले नगरपालिकाभित्र रहेका ३४ विद्यालयमा पत्रु खाजाको प्रयोग नभएको जनाउँदै त्यस्तो गरेको पाइएमा विद्यालयलाई कारवाही गरिने बताए । “बालबालिकाको स्वास्थ्यमा हामी सबै जिम्मेवार छौँ । सरकारको निर्देशिका अनुसार अगाडि बढेका छौँ ”, उनले भने, “महीनाको एकपटक सबै विद्यालयमा हामीले छड्के अनुगमन गर्ने गरेका छौँ ।”

लम्की चुहा नगरपालिकामा भने बालबालिकाको हाजिरीका आधारमा अभिभावकलाई पैसा उपलब्ध गराउँदै आएको नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले बताए । “आफ्नो बालबालिका प्रतिअभिभावक बढी जिम्मेवार होलान् भनेर पैसा दिने गरेका छौँ”, उनले भने, “यसको अनुगमन भइरहेको छ । त्यो उपाय पनि सफल भएन भने अर्को विकल्पमा जान्छौँ । जसरी पनि बालबालिकालाई पत्रु खाजाको पहुँचबाट टाढा गर्ने हाम्रो लक्ष्य छ ।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले पत्रु खाजाले बालबालिकालाई मात्रै नभई जुनसुकै उमेरकालाई पनि राम्रो नगर्ने जानकारी दिए । उनले पत्रु खाजाले कुपोषण बढाउनुका साथै मानिसको आयु पनि घट्दै जाने बताए । “पत्रु खाजा स्वास्थ्यका हिसाबले निकै हानिकारक हुन्छ । त्यसमा मानिसको शरीरलाई चाहिले फुड पिरामिड पनि हुँदैन”, उनले भने, “स्वादमा मीठो भए पनि त्यस्मा कुनै पौष्टिक तत्व रहेको हुँदैन । सरकारले गरेको लगानीलाई विद्यालय तथा अभिभावकले जिम्मेवारका साथ कसैको स्वास्थ्यमा खेलबाड नगरी निभाउन सक्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस