चुरे क्षेत्रमा पिउने पानीको समस्या

रासस

आइतबार, ०५ बैशाख २०७८, १६ : ०१
चुरे क्षेत्रमा पिउने पानीको समस्या

सर्लाही । उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् । बर्सेनि सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्ने गरेका हुन् ।  सुक्खा याम शुरु भएपछि चुरे क्षेत्रका धारा, इनार, कुवालगायत खानेपानीका स्रोत सुक्ने गरेको स्थानीयवासीले बताएका छन् । चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै खानेपानीको समस्या सिर्जना हुने गर्दछ ।

हिउँदका केही महिना चुरे क्षेत्रमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालीञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्गेखोलालगायत क्षेत्रमा खानेपानीको सङ्कट हुने गरेको हो । बढ्दो वन विनाश र अवैध उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका मुहान चाँडो सुक्न थालेका छन् ।

यस क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौँ धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन् । गाउँका ४०/४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेको र त्यस कुवामा रातभरि जम्मा भएको पानीले दुई÷चार घरलाई मात्र पुग्ने गरेको ईश्वरपुर नगरपालिका–१२, कालीञ्जोरका कान्छा लामाले बताए । “अहिले गाउँका अधिकांशले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छौँ”, उनले सुनाए । चुरेका बासिन्दा र वस्तुभाउले एउटै खोला÷खोल्साको पानी खान्छन् । दूषित पानी पिउँदा स्थानीय बासिन्दा बर्सेनि पखालालगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका छन् ।

लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले फागुन र चैतमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको गुनासो गरे । “मुहानै सुक्न थालेपछि गाउँका धारामा कम पानी आउन थालेको छ”, रानाले भने । एक गाग्री पानीका लागि पाँच घण्टासम्म कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।

खानेपानीको अभाव टार्न गत वर्ष लालबन्दी, वाग्मती र हरिवन नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पु¥याए पनि केही स्थानबाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयवासीले बताएका छन् । तर नगरको उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको अभाव हुन नदिन पुराना इनार मर्मत एवम् नयाँ निर्माण गर्ने र ठाउँठाउँमा डिप बोरिङ गाड्ने काम भइरहेको जनप्रतिनिधिले बताएका छन् । 

हरिवन–१ चुरेपाखोस्थित धिमिलेमा आधा दर्जन गाउँलाई पानी खुवाउन ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ । नगरप्रमुख गणेशप्रसाद प्रसाईंले उक्त ओभरहेड ट्याङ्कीको शिलान्यास गरेका हुन् । चालु आव २०७७÷७८ सम्म सम्पन्न गर्ने गरी दुई हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गर्न शुरु गरिएको नगरप्रमुख प्रसाँइले जानकारी दिए । सो आयोजनाअन्तर्गत १ नं वडाका सात स्थानमा त्यति नै क्षमताको ट्याङ्की निर्माण हुने नगरपालिकाले जनाएको छ । रु एक करोड ५० लाख लागतमा निर्माण हुन लागेको ट्याङ्कीमा दुई मुहानबाट पानी लिफ्टिङ गरेर लैजाने योजना रहेको नगर उपप्रमुख रेणुका पौडेलले बताए ।

यसरी लिफ्टिङ गरिएको पानी चुरेडाँडामा रहेका बनमारा, केराबारी, थामिटोल, विलन्दी र बेलडाँडामा पाइपलाईनमार्फत वितरण गरिनेछ । पानीको उपयुक्त स्रोत नहुँदा त्यहाँका स्थानीयवासीले मूलको जरुवा पानीलाई कुवा बनाएर सङ्कलन गरेर पिउँदै आएका छन् । त्यहाँ रहेको कुवा पनि हिउँदको केही महिना सुक्ने गर्दा काकाकुलको अवस्था बेहोर्नु परेको स्थानीयवासी सोमबहादुर वाइवाले गुनासो गरे ।

गाउँमा पानी ट्याङ्की निर्माण हुने र घरघरमा धाराबाट पानी आउने भएपछि स्थानीयवासी खुशी भएका छन् । नगरको अति विकट मानिने वडा नं १ र आसपासका क्षेत्रमा कसरी पानी पु¥याउन सकिन्छ भनेर थप अध्ययन गरिसकेको र नजीकैको खोलाबाट लिफ्ट प्रविधिमार्फत खानेपानी पु¥याउने थप प्रयास भइरहेको नगरप्रमुख प्रसाँईले बताए ।

प्रतिक्रिया दिनुहोस