चितवन (माडी) । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडी नगरपालिकाको अयोध्या नै भगवान रामको जन्मभूमि हो भनेर प्रमाणित भए सबैभन्दा खुसी आफू हुने बताएका छन् । उनले माडीको अयोध्याधामलाई राम जन्मभूमि भनेर प्रमाणित गर्न आफू निरन्तर लाग्ने प्रतिबद्धतासमेत गरेका थिए ।
अध्यक्ष प्रचण्ड आज माडीको अयोध्याधाम पुगेर माडीवासीलाई सम्बोधन गर्दै पुरातत्वविद्, अनुसन्धानकर्ता र खोजकर्ताहरुले गहिरो अनुसन्धान र अध्ययनबाट माडीको अयोध्याधाम नै राम जन्मभूमि प्रमाणित भए चितवनको क्षेत्र नं ३ को निर्वाचित जनप्रतिनिधिको नाताले अरुभन्दा आफू नै खुसी हुने बताए । अध्यक्ष प्रचण्डले भने, ‘माडीको अयोध्याधाम नै राम जन्मभूमि भएको आधिकारिक र प्रमाणित गर्न अध्ययन र अनुसन्धान गर्नपर्छ, यो गम्भीर विषय हो । यसमा सस्तो लोकप्रियता हासिल गर्न कसैले खोज्नुहुँदैन ।’
उनले माडीको अयोध्याधाम रामको जन्मभूमि भनेर अहिले राष्ट्रिय रुपमा चर्चा भएको र यसलाई आधिकारिक र प्रमाणित गर्न आफू लागिपर्ने बताए । उनले भने, ‘यहाँको निर्वाचित जनप्रतिनिधिको नाताले पनि अयोध्या नै राम जन्मभूमि हो भनेर प्रमाणित गर्न म लाग्नेछु, मेरो मुख्य ध्येय पुरातत्वविद्हरुलाई राखेर प्रमाणित गर्न नै हुन्छ ।’
एउटा गम्भीर विषयको कुरामा हलुका ढंगले लिएर सस्तो लोकप्रियता हासिल गर्न कोही पनि लाग्न नहुने अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले भने, ‘प्रचारमुखी होइन, यर्थाथमुखी तथ्य प्रमाण र वैज्ञानिक ढंगले अनुसन्धान गर्नुपर्छ, म त्यसमा जिम्मेवारी ढंगले लाग्ने विश्वास दिलाउन चाहन्छु ।’
जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्दै अध्यक्ष प्रचण्डले रामजन्मभूमि भनेर आधिकारिक रुपमा प्रमाणित गर्न सकियो भने यहाँको धार्मिक प्रवद्र्धन हुने र यहाँको जतनाको जीवनस्तर माथि उठ्ने बताए । उनले भने, ‘कम्युनिष्टले धार्मिक आस्थाप्रति उच्च सम्मान गर्दैन भन्ने कुरा झुटो हो, धार्मिक आस्थाप्रति कम्युनिष्टहरु नै बढी जिम्मेवारी हुनेछन् ।’
उनले यस माडीको अयोध्याधामलई राम जन्मभूमि हो भनेर प्रमाणित गर्न राज्यले पनि मुठी खोलेर आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘म सबै माडीवासी, चितवनवासी र देशवासीलाई नै भन्छु माडीको अयोध्याधामलाई राम जन्मभूमि भनेर प्रमाणित गर्न म निरन्तर लाग्नेछु । अनुसन्धानबाट प्रमाणित भए ठूलो उपलब्धी हुनेछ ।’ अयोध्याधाममा निर्माण भइरहेका संरचनाप्रति आफ्नो पूर्ण सहयोग रहने अध्यक्ष प्रचण्डको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल, माडी नगर प्रमुख ठाकुर ढकाल, अयोध्याधाम निर्माण समितिका पदाधिकारी र माडीवासीको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा प्रचण्डको घर जलाइयो
जेनजी युवाहरूको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको माग
प्रचण्डको पोस्टमा बालेनको कमेन्ट : 'एकादेशमा टिकटक पनि बन्द भएको थियो'
‘माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ’: प्रचण्ड
लमजुङमा प्रचण्डको मर्निङ वाक
जलवायु संकट श्रमजीवी वर्गको साझा मुद्दा हो: प्रचण्ड