ओलीको निम्तो प्रचण्डबाट अस्वीकृत

पत्रपत्रिकाबाट

शनिबार, ०४ बैशाख २०७८, ०६ : ४५
ओलीको निम्तो प्रचण्डबाट अस्वीकृत

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे ।

यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गरेका थिए । भेटघाट स्थल र समय नमिलेको भन्दै दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ ।

‘प्रधानमन्त्री ओलीले म, तपाईं र शेरबहादुर देउवा बस्नुपर्ने भयो, भेट गरौं भन्ने प्रस्ताव गर्नु भएको थियो तर बालुवाटारमा होइन, अबदेखि भेटघाटस्थल सिंहदरबार बनाऔं । अहिले म बाहिर छु, बेलुका सल्लाह गरौंला भनेर जबाफ फर्र्काएको छु’, दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।  

प्रधानमन्त्री ओलीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको बताइए पनि दाहालको सचिवालयले सर्वदलीय बैठकबारे कुनै कुराकानी नभएको बतायो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको थापाले बताए ।

दाहालसँग ओलीले कुराकानी भएको थापाले पुष्टि गरे । दाहालले शुक्रबार ललितपुरको एक कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका थिए । ‘प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभएको थियो । नागरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस