नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा श्री आदर्श च्याम्पियन

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १८ : १४
नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा श्री आदर्श च्याम्पियन

काठमाडौं । श्री आदर्श कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता ६ स्वर्ण, २ रजत र १ कांस्य जित्दै २१ अंकसाथ श्री आदर्श समग्रमा च्याम्पियन बनेको हो । २ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ १९ अंक जोडेको हिन्दु विद्यापीठ दोश्रो भयो । क्रिस्टियन कम्युनिटी स्कुल सीसीएस र तेज विनायक समान १७ अंकसाथ संयुक्त रुपमा तेश्रो भए ।

तेक्वान्दो र एथलेटिकस समावेश प्रतियोगिताको अन्तिम दिन एथलेटिक्सतर्फ १ सय मिटर दौडको छात्रमा सीसीएसका राज श्रेष्ठ र छात्रामा पाणिनीकी राशिका प्रसाईं, २ सय मिटर दौडको छात्रमा सीसीएसका नवीन सुनार र छात्रामा हिन्दुकी कृष्टिना केसी तथा ४ सय मिटर दौडको छात्रमा सीसीएसका कमल महत र छात्रामा नेपाल राष्ट्रिय माविकी प्रमिला भण्डारीले स्वर्ण जिते ।

मूलपानीमा भएको एथलेटिक्समा विद्या विकासका विक्रम खड्काले दोहोरो स्वर्ण जिते । उनले छात्र ८ सय र १ हजार ५ सय मिटर दौडमा दोहोरो स्वर्ण चुमेका हुन् । छात्रातर्फ ८ सयमा कान्ति भैरवकी निरु गिरी र १ हजार ५ सयमा आदर्शकी अन्जली दगौराले शीर्ष स्थान हात पारिन् । ४ गुणा १ सय मिटर रिलेको छात्रमा तेज विनायक तथा छात्रामा श्री आदर्श पहिलो भए । तेक्वान्दो बिहीबारै सम्पन्न भइसकेको छ । दुवै खेलमा आ–आफ्नो स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २ हजार, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस